कास्की–१ मा नेकपाको तेस्रो जित निकाल्ने दाबी गर्दै राजकाजी गुरुङ (करण) चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। विकास र समृद्धिमार्फत जिल्लाको रूपान्तरण गर्ने एजेन्डासहित उनले मत मागिरहेका छन्। जनआन्दोलन र जनयुद्धको जगमा स्थापित लोकतान्त्रिक व्यवस्थापछि कास्की–१ को चुनावी यात्रा विभिन्न चरण पार गर्दै आएको छ। बदलिँदो राजनीतिक परिवेशमा करणले नेकपाको “तेस्रो जित” सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरेका हुन्।
२०६४ को पहिलो संविधानसभा निर्वाचन र २०६५ को उपनिर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभामा कांग्रेसले जित हात पारेको यस क्षेत्रमा गणतन्त्रपछिका दुई निर्वाचनमा एमाले सफल भएको थियो। पछिल्लो राजनीतिक तरंगबीच करण आफूलाई “पुरानामध्ये नयाँ र नयाँमध्ये पुराना” उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन्।
२०३४ सालमा पर्वतको पैयू गाउँपालिकामा जन्मिएका करण हाल पोखरा–१३, भद्रकालीमा बसोबास गर्छन्। विद्यार्थी राजनीतिबाट सक्रियता सुरु गरेका उनी जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि कास्कीमा निरन्तर सक्रिय छन्। पहिलो संविधानसभामा कास्की–२ बाट निर्वाचित भएका करण यसपटक कास्की–१ बाट प्रतिस्पर्धामा छन्। उनी भन्छन्, “व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने अभियानको नेतृत्व गर्छौं।”
इतिहास : रानाभाट–अधिकारीदेखि गुरुङसम्म
बहुदल पुनःस्थापनापछि कास्की–१ मा प्रारम्भिक प्रतिस्पर्धा तारानाथ रानाभाट र खगराज अधिकारीबीच केन्द्रित थियो।
२०४८ मा रानाभाट विजयी भए।
२०५१ मा अधिकारीले नतिजा आफ्नो पक्षमा पारे।
२०५६ मा पुनः रानाभाट विजयी बने।
पहिलो संविधानसभा (२०६४) मा देव गुरुङ निर्वाचित भए भने २०६५ को उपनिर्वाचनमा कृष्णबहादुर गुरुङले जित निकाले। २०७० मा यज्ञबहादुर थापा विजयी भए। २०७४ मा खगराज अधिकारी पुनः निर्वाचित भए भने २०७९ मा मनबहादुर गुरुङ विजयी बने।
प्रतिस्पर्धा रोचक
कास्की–१ मा मादी र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका ११ वडा पर्छन्। प्रतिनिधिसभातर्फ १७ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये एक जनाबाहेक सबै पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएका छन्।
परम्परागत रूपमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत दलले पनि सक्रियता बढाएका छन्।
समानुपातिकतर्फ एमालेले २१,४४३, कांग्रेसले १६,२६८, रास्वपाले १५,८६४ र नेकपाले ५,१०८ मत प्राप्त गरेको तथ्यांकले यहाँको बहुदलीय प्रतिस्पर्धा झल्काउँछ।
सम्भावनाको क्षेत्र, तर सदुपयोगको प्रश्न
करणका अनुसार कास्की–१ प्राकृतिक स्रोत–साधनले सम्पन्न भए पनि दीर्घकालीन योजना र स्पष्ट नीतिको अभावमा सम्भावनाको पूर्ण उपयोग हुन सकेको छैन। ऐतिहासिक स्थल क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नसक्नु, पूर्वाधार विकासमा ढिलाइ र रोजगारीका अवसर सीमित रहनु उनका मुख्य मुद्दा हुन्।
अनेरास्ववियु (क्रान्तिकारी) हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका करण पूर्व अर्थमन्त्री वर्षमान पुनका आर्थिक सल्लाहकारसमेत रहिसकेका छन्। उनले कास्की–१ का विभिन्न योजनामा बजेट विनियोजनका लागि पहल गरेको दाबी गरेका छन्।
घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै उनी भन्छन्, “पुरानाले दुई तिहाइ हुँदा पनि देशलाई दिशा दिन सकेनन्, नयाँ शक्तिको उदय विवादास्पद देखियो। देशको समृद्धिको स्पष्ट खाका नेकपासँग छ।”
अब कास्की–१ मा पुनः वामशक्ति उदाउने कि परम्परागत प्रतिस्पर्धी दलले आफ्नो वर्चस्व कायम राख्ने—निर्णय मतदाताको हातमा छ।
प्रकाशित: १७ फाल्गुन २०८२ २१:५४ आइतबार





