रवीन्द्र मिश्रले काठमाडौं १ बाट तेस्रो पटक पराजित भएपछि दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहेका मिश्रले आफ्नो निर्णय सोचविचार गरेर लिएको बताएका छन्। उनले आजकै मितिदेखि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा उनले देशभर राजसंस्था पुनःस्थापनाको पक्षमा व्यापक जनमत भए पनि त्यसलाई संगठित र पूँजीकृत गर्न पार्टी पटक–पटक असफल भएको स्वीकार गरेका छन्। वरिष्ठ उपाध्यक्षको हैसियतले त्यसको जिम्मेवारी आफूले पनि लिनुपर्ने उनको भनाइ छ।
मिश्रले देशको बदलिँदो भूराजनीति र कमजोर हुँदै गएको आन्तरिक परिस्थितिका कारण देश बचाउन र बनाउन नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको धारणा राखेका छन्।
विज्ञप्तिमा उनले दुई निर्णय सार्वजनिक गरेका छन्:
-आजैदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा
-राजसंस्था पुनर्स्थापना र सुशासनका मुद्दामा भने स्वतन्त्र रूपमा आफ्नो अडान जारी राख्ने
उनले आफ्नो ९ वर्ष लामो राजनीतिक यात्रामा इमानदारीपूर्वक राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै अझै त्यो पर्याप्त नभएको बताएका छन्।
मिश्रले निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना पनि दिएका छन्। साथै नेपाली राजनीति “तातो तावाबाट भुङ्ग्रोमा नजाओस्” भन्ने कामना व्यक्त गरेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १२:४९ शनिबार





