पत्रकार पक्राउ प्रकरणमा सरकार र प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले सामाजिक सञ्जाल फेसबुकमा गरेको व्यङ्ग्यात्मक पोस्टले थप चर्चा र प्रश्न जन्माएको छ।
सामाजिक सञ्जालमा रमाइला तथा व्यङ्ग्यात्मक पोस्टका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै आफूलाई पक्राउ गर्न तयार गरिएको भनिएको २८ पत्रकारको सूचीबारे टिप्पणी गरेका हुन्।
‘यो २८ जना पत्रकारमा को–को पर्या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो,’ उनले फेसबुकमा लेखेका छन्।
बेनले आफ्नो पोस्टमा समीर बलामी, जयसिंह महरा, रोशन खड्का, रुपेश श्रेष्ठ, कृष्ण आचार्य, अनिल गिरी, शिवहरि घिमिरे, प्रदीप कार्की, ओम शर्मा, रमेश सुवेदी, गोकरण अवस्थी, राजु घिसिङ, मनोज सत्याल, उमेश चिरञ्जीवी पौडेल, श्रीधर पी पौडेल, कमल सरगम चौलागाईं, टीकाराम यात्री, केशव खड्का र बसन्त बस्नेतलगायत पत्रकारलाई मेन्सन गरेका छन्।
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकाबारे गम्भीर प्रश्न उठिरहेका बेला प्रमुख सल्लाहकारको यस्तो पोस्ट सार्वजनिक हुनुलाई धेरैले अनौठो रूपमा लिएका छन्। आलोचकहरूले सञ्चार स्वतन्त्रतासँग जोडिएको संवेदनशील विषयमा सरकारको प्रमुख सल्लाहकारले व्यङ्ग्यात्मक टिप्पणी गर्नुले घटनाप्रति सरकारको गम्भीरतामाथि प्रश्न उठाएको बताएका छन्।
प्रकाशित: १५ कार्तिक २०८३ १६:३० आइतबार



-600x400.jpg)

