१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

छठ लक्षित प्रधानमन्त्रीको पहल: सिर्सिया खोलालाई प्रदूषणमुक्त बनाउन टोली परिचालन

प्रधानमन्त्री बालेन्द्र शाहले सिमराको रामवनबाट बग्ने सिर्सिया खोलालाई दीर्घकालीन रूपमा सफा र स्वच्छ राख्ने उद्देश्यले आफ्नो टोलीलाई बारा र पर्सामा खटाएका छन्।

सिर्सिया खोला सफा र स्वच्छ बनाउन प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका मुख्य स्वकीय सचिव आशिष सुवेदीको नेतृत्वमा टोली परिचालन गरेका हुन्।  

गत शुक्रबारदेखि परिचालन गरिएको सुवेदी नेतृत्वको टोलीले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन खोलाको मुहानस्थलदेखि विभिन्न स्थानमा निरीक्षण गर्नुका साथै सरोकारवाला निकायसँग छलफल गरिरहेको छ।

उद्योगबाट निस्कने दूषित पानी नियन्त्रण तथा गाउँगाउँबाट खोलामा मिसाइने ढल व्यवस्थापनका लागि सरोकारवालासँग छलफल गरी योजना बनाउने कामसमेत भइरहेको टोलीका सदस्यहरूले बताएका छन्।

सिर्सिया खोलालाई दीर्घकालीन रूपमा स्वच्छ र सफा बनाउने विषयमा प्रधानमन्त्री गम्भीर भएर लाग्नुभएको टोलीका संयोजक आशिष सुवेदीले बताए।

आगामी छठ पर्वलाई लक्षित गर्दै सिर्सिया खोलाको प्रदूषण नियन्त्रण गरी घाटहरू व्यवस्थित गर्ने तयारी गरिएको छ। छठ पर्वपछि पनि दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रणका लागि काम अगाडि बढाउने योजना बनाइएको सुवेदीले बताए।  

छठ पर्वका लागि खोलाको पानी सफा र स्वच्छ बनाउने तथा घाटहरू निर्माण गर्ने कार्यमा केन्द्रित रहेर काम अगाडि बढाइएको उनले जानकारी दिए।  

सुवेदीको टोलीलाई सहयोग गर्न उद्योग विभागका निर्देशक निराजन पुडासैनी, केमिकल इन्जिनियर तथा वातावरण निरीक्षकसमेत खटिएका छन्।

सिर्सिया खोलालाई तत्कालीन र दीर्घकालीन रूपमा सफा तथा स्वच्छ बनाउन सुवेदी नेतृत्वको टोलीले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीसँग समेत छलफल गरी सहयोगका लागि आग्रह गरेको छ।

त्यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सर्वदलीय तथा सर्वपक्षीय बैठकसमेत आयोजना गरिएको छ।

स्थानीय तहका जनप्रतिनिधि, उद्योगी तथा स्थानीय सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा उनीहरूले सिर्सिया नदीको प्रदूषण नियन्त्रण, संरक्षण तथा पुनर्जीवनका लागि आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको सुवेदीले बताए।

विगतमा भएका निर्णय तथा कामकारबाहीको समीक्षासमेत गर्दै नदीलाई स्वच्छ बनाउने अभियानमा सरकारी निकाय, उद्योगी–व्यवसायी, स्थानीय तह र नागरिक समाजबीच समन्वय गरेर अगाडि बढ्दा काममा प्रगति देखिने विश्वास उनले व्यक्त गरे।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका अधिकांश उद्योगले आफ्नो उद्योगबाट निस्कने रासायनिक मिश्रित दूषित पानी प्रशोधन नगरी सिधै सिर्सिया खोलामा मिसाउने गरेको पाइएको छ।

त्यसैगरी उद्योगबाहेक पनि सिमरा, जीतपुर, परवानीपुर, वीरगञ्जलगायत सिर्सिया खोलासँग जोडिएका गाउँ तथा सहरबाट निस्कने ढलको पानीसमेत प्रशोधन नगरी सिधै खोलामा मिसाउने गरिएको छ।

नदीको संरक्षण तथा पुनर्जीवनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन तीनै तहका सरकारको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने बताइएको छ।

आसन्न छठ पर्वलाई लक्षित गर्दै नदीमा फोहोर तथा विभिन्न वस्तु–पदार्थ विसर्जन रोक्न निर्देशनसमेत दिइएको छ। उद्योगमा रहेको प्रशोधन प्रणालीबाट निस्कने प्रशोधित पानी मात्रै नदीमा छोड्ने व्यवस्था मिलाउन उद्योगीहरूलाई भनिएको छ।

सिर्सिया नदीको प्रदूषण दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकारात्मक सुरुवात भएको उद्योगीहरूले बताएका छन्।

उद्योगहरूबाट निस्कने रसायन मिश्रित पानी तथा ढलबाट निस्कने पानी प्रशोधन नगरी खोलामा मिसाउने कार्यलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएको छ।

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पनि भदौ २२ गते वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीहरूलाई सिर्सिया खोलाको प्रदूषण रोक्न एक साताको समय दिएकी थिइन्।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका अधिकांश उद्योगले उद्योगबाट निस्कने रसायनयुक्त पानी सिधै सिर्सिया नदीमा मिसाउने गरेको उनले आरोप लगाइन्। उनले खोला प्रदूषण गर्नेहरूलाई पटक–पटक सचेत गराउँदा पनि हालसम्म प्रदूषण रोक्न कुनै सुधार नदेखिएको भन्दै उद्योगीहरूसमक्ष गुनासो गरेकी छन्।

विगत लामो समयदेखि यस क्षेत्रका किसान तथा सर्वसाधारणले सिर्सिया नदीलाई पुनर्जीवन दिन माग गर्दै आएका छन्।

यस क्षेत्रका उद्योगहरूबाट निस्कने प्रदूषित पानी खोलामा छोडिँदै आएका कारण बाराको सिमरा, जीतपुर, पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, रानीघाटलगायत दर्जनौँ गाउँका लाखौँ बासिन्दा नदी प्रदूषणबाट प्रभावित हुँदै आएका छन्।

उद्योगहरूले वातावरण संरक्षण ऐनको दायरालाई उल्लंघन गर्दै दूषित पानी खोलामा पठाउँदा स्थानीय जनजीवन, पशुपालन तथा समग्र मानव स्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको छ।

 

फोटो : सिर्सिया खोलालाई तत्कालीन र दीर्घकालीन रूपमा सफा तथा स्वच्छ बनाउन खटिएको सुवेदी नेतृत्वको टोली।

 

 

 

प्रकाशित: १५ कार्तिक २०८३ १८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App