१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियता ठुलो संकटमा छ, अब आन्दोलन गर्नुपर्छ : जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले मुलुकको राष्ट्रियता ठुलो संकटमा परेको बताएका छन्।

अग्रगामी मोर्चा लुम्बिनी प्रदेश समन्वय समितिले आइतबार नेपालगन्जमा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार असफलतातर्फ अगाडी बढिरहेको आरोप लगाए।

उनले देश, संविधान, सङ्घीयता, समावेशिताको रक्षा गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए।

उनले यी कुराको रक्षा गर्नका लागि अब शक्तिशाली आन्दोलन गर्नुपर्ने बेला आएको आवश्यकता औँल्याए।

‘सरकारले जनतामा नैराश्यता पैदा गरेको छ, देशमा अर्को आन्दोलनको आवश्यकता देखा परिरहेको छ, आज फेरी लोकतन्त्र, सङ्घीयता र संविधानको अपहरण हुँदैछ, यसका लागि जनताले खबरदारी गर्नुपर्ने अवस्था छ,’अध्यक्ष शर्माले भने।

यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले देश झन् पछाडि धकेलिँदै गएको बताएका छन्। उनले देश अन्धकारतर्फ गइरहेको बताए।

अग्रगामी मोर्चाका नेता राउतले सरकारको नेतृत्वकर्ताबाट नै ‘सङ्घीयता, गणतन्त्र, समावेशिता गलत हो’ भन्ने गलत भाष्य निर्माण गरिरहेको आरोप लगाए।

‘देशलाई अग्रगामी दिशामा लैजानका लागि हामीहरू एउटै मोर्चामा जोडिएका हौँ, देश पछाडि होइन, अगाडी जानुपर्छ,’ डा. राउतले भने।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई उचाइमा पुर्‍याउन अग्रगामी मोर्चा निर्माण गरिएको र मोर्चालाई गाउँ तहसम्म पुर्‍याउने उद्घोष गरे।

महिलाले ५० प्रतिशत अधिकार पाउनुपर्ने र जनसंख्याको हिसाबले मधेशी समुदायलाई ६० प्रतिशतभन्दा आरक्षण सिटको निश्चित गरिनुपर्ने उनले बताए।

त्यसैगरी, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले वर्तमान सरकार असफल भइसकेको आरोप लगाए।

सरकारले जनतालाई निराश बनाउने काम मात्र गरिरहेको उनको आरोप छ। उनले अग्रगामी मोर्चा जनताका अधिकारका लागि लड्ने बताए।

मोर्चाले विभिन्न प्रदेशमा पुगेर कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम गरिरहेको छ। देशका अन्य प्रदेशमा पुगेर पनि कार्यक्रम गर्ने मोर्चाको योजना छ।

अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, खुम्बुवान राष्ट्रिय मोर्चा लगायत दल आबद्ध रहेका छन्। 

प्रकाशित: १५ कार्तिक २०८३ १९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App