नगरकोट भ्रमण वर्षलाई लक्षित गरी तीन वर्षअघि निर्माण थालिएको भक्तपुरको चाँगुनारायण नगरपालिका प्रवेशद्वार अझैसम्म सम्पन्न नभएपछि स्थानीयवासीले आइतबार प्रवेशद्वारअगाडि प्रदर्शन गरेका छन्। वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको प्रवेशद्वारले सडक आवागमनमा अवरोध पुर्याउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको भन्दै स्थानीयवासी र उक्त सडक नियमित प्रयोग गर्ने सर्वसाधारणले करिब एक घण्टा विरोध जनाएका हुन्।
निर्माण कार्य सम्पन्न गर्न भन्दै अन्तिम पटक १५ दिनको म्याद थप गरिएको सूचना प्रकाशित भएको एक महिना बितिसक्दा पनि काम पूरा नभएपछि स्थानीयवासी आक्रोशित भएका हुन्। तोकिएको समयभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता आए पनि त्यसअनुसार काम नभएको भन्दै उनीहरूले स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएर दबाबमूलक कार्यक्रम गरेका छन्।
स्थानीयवासी तथा उक्त सडक नियमित प्रयोग गर्ने सर्वसाधारण भेला भएर करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए। उनीहरूले अधुरो प्रवेशद्वारका कारण सर्वसाधारणले भोग्नुपरेको समस्या तत्काल समाधान गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
विरोध कार्यक्रममा सहभागी स्थानीयवासीले तीन वर्षसम्म पनि सामान्य प्रवेशद्वार निर्माण सम्पन्न गर्न नसक्नु सम्बन्धित निकायको गैरजिम्मेवारी भएको आरोप लगाए। सार्वजनिक सडकमा निर्माणाधीन संरचना अलपत्र छाड्दा सर्वसाधारणको सुरक्षामाथि नै खेलवाड भएको उनीहरूको भनाइ छ। निर्माण कार्य सुरु गरेपछि त्यसलाई समयमै सम्पन्न गर्ने र निर्माण अवधिभर सडक प्रयोगकर्ताको सुरक्षाको व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित निकायको भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको उनीहरूले आरोप लगाए।
स्थानीयवासीले प्रवेशद्वार निर्माणमा भएको ढिलाइ सार्वजनिक गर्न, निर्माणको जिम्मेवारी लिएको पक्षलाई जवाफदेही बनाउन र बाँकी काम तत्काल सम्पन्न गर्न माग गरेका थिए। उनीहरूले प्रवेशद्वार निर्माणका कारण दैनिक आवतजावत गर्ने स्थानीय बासिन्दा, मोटरसाइकल चालक, सार्वजनिक तथा निजी सवारीसाधनका चालक र पैदलयात्री सबै प्रभावित हुँदै आएको बताए।
स्थानीयवासीले काम छिटो सम्पन्न नगरे दैनिक रूपमा यस्तै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन्। मौखिक आश्वासनमा मात्रै विश्वास गर्ने अवस्था नरहेको भन्दै उनीहरूले निर्माण सम्पन्न गर्ने निश्चित समयसीमासहित लिखित प्रतिबद्धता माग गरेका छन्।
स्थानीयवासीले सडक अवरुद्ध गर्दा सर्वसाधारण यात्रु तथा सवारीसाधन प्रयोगकर्तालाई परेको असुविधाप्रति क्षमायाचना गर्दै आफ्नो विरोध सर्वसाधारणलाई दुःख दिने उद्देश्यले नभई वर्षौंदेखि अलपत्र रहेको निर्माण कार्य सम्पन्न गराई सबैका लागि सुरक्षित सडक आवागमन सुनिश्चित गर्न गरिएको बताएका थिए।
नगरकोट भ्रमण वर्षलाई लक्षित गरेर प्रवेशद्वार निर्माण सुरु गरिएको थियो। तर, एक वर्ष लामो नगरकोट भ्रमण वर्ष सम्पन्न भएको पनि तीन वर्ष बितिसक्यो। नगरकोट भ्रमण वर्षमा आउने पर्यटकलाई स्वागत गर्न बनाइएको प्रवेशद्वार नै तीन वर्षसम्म अधुरो रहनुले नगरपालिकाको विकास निर्माण कार्यान्वयन र अनुगमनमाथि समेत प्रश्न उठाएको प्रदर्शनकारीहरूको भनाइ छ।
पर्यटकीय क्षेत्रको पहिचान र आकर्षण बढाउने उद्देश्यले सुरु गरिएको संरचना समयमै सम्पन्न नहुँदा नगरपालिकाको छविमा समेत नकारात्मक प्रभाव परेको स्थानीयको भनाइ छ। पीडितहरूले सम्बन्धित निकायलाई तत्काल स्थलगत अनुगमन गरी निर्माणको बाँकी काम पूरा गर्न र सडकमा सुरक्षित आवागमनको व्यवस्था मिलाउन माग गरेका छन्।
प्रवेशद्वार निर्माणका कारण सडक आवागमनमा समस्या भइरहेको विषयमा स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए। सामाजिक सञ्जालमार्फत समेत निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गर्दै आएका उनीहरूले लामो समयसम्म सुनुवाइ नभएको गुनासो गरेका छन्। स्थानीयका अनुसार सामाजिक सञ्जालमा निर्माणको अवस्थाबारे प्रश्न उठाउनेदेखि सम्बन्धित निकायलाई प्रत्यक्ष जानकारी गराउनेसम्मका प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन।
यो प्रवेशद्वार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीचको सिमाना नजिक कमलबिनायकमा रहेको छ। कमलबिनायक चोक अर्थात् नगरकोट बसपार्कबाट करिब आधा किलोमिटरको दूरीमा नगरकोट सडकखण्डमै यो संरचना निर्माणाधीन छ। यही प्रवेशद्वार हुँदै नगरकोट पुगिन्छ। यही कारण नगरकोट आउने पर्यटकमा समेत नकारात्मक प्रभाव परेको स्थानीयको भनाइ छ। साथै चाँगुनारायण नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयसमेत यही प्रवेशद्वार हुँदै पुगिन्छ।
प्रकाशित: १५ कार्तिक २०८३ १९:३५ आइतबार





