१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकार हरेक क्षेत्रमा असफल भइरहेको छ : उपेन्द्र यादव

देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने वाचासहित जनमत पाएर बनेको वर्तमान सरकार हरेक क्षेत्रमा असफल भइरहेको अग्रगामी मोर्चाले ठहर गरेको छ।

लुम्बिनी प्रदेश समन्वय समितिले आइतबार नेपालगन्जमा गरेको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चा सम्बद्ध दलका शीर्ष नेताहरूले यस्तो ठहर गरेका हुन्।

मोर्चामा सम्बद्ध जनता समाजवादी पार्टी(नेपाल)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनतालाई अनेक आश्वासन बाँडेर आएको पार्टीले सरकारको नेतृत्व गरिरहँदा सबैतिर निराश मात्र बनाइरहेको बताए।

चुनावको बेलामा जनतालाई बाँडेको आश्वासनभन्दा विपरीत अहिले सरकारले महँगी, भ्रष्टाचार र बेतिथिलाई निम्त्याईरहेको अध्यक्ष यादवको भनाई छ।

‘भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रणमा छैन, बरु बढ्दै गएको छ। महँगी दुई गुणा बढेको छ,’ उनले भने, ‘गरिब जनता जसले दिनभर काम गरेर भोजन जुटाउँछन्, उनीहरू संकटमा परेका छन्। शिक्षाको गुणस्तर कमजोर हुँदै गएको छ, सरकारी स्कुलमा पढाई भइरहेको छैन। सरकारी अस्पतालमा उपचार पाइँदैन, स्वास्थ्य बिमा योजना असफल भइरहेको छ। गरिबका लागि यो सरकार साथमा छैन, सुशासनको त नामोनिसान नै छैन।’

सरकार विदेशी ऋणबाट चलिरहेको पुर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले आरोप लगाए। विगतमा कांग्रेस र कम्युनिष्टको शासन कालमा जस्तै जनताहरू अहिले वर्तमान सरकारबाट आजित भईरहेको उनले बताए।

प्रकाशित: १५ कार्तिक २०८३ १९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App