१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना

अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ। त्यो युद्धको अवधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गर्न नसक्ने इरानको दाबी रहेको छ।

‘सम्भावित भावी युद्ध अघिल्लो द्वन्द्वभन्दा लामो हुन सक्छ र अमेरिकी राष्ट्रपति यसको समाप्ति समय वा अवस्था निर्धारण गर्ने स्थितिमा हुनुहुने छैन,’ इरानी राष्ट्रिय टेलिभिजनले इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियालाई उद्धृत गर्दै उल्लेख गरेको छ। 

उनले फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणबाट सुरु भएको युद्धको सबैभन्दा भयानक चरणको कुरा गर्दै अक्रामिनियाले आगामी युद्ध अमेरिका वा कसैको पनि सहज नियन्त्रणमा नहुने बताए।

अमेरिका–इजरायलको आक्रमणको सुरुमा इस्लामी गणतन्त्रका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएका थिए भने कैयौँ इरानी नेता, सैन्य अधिकारी र वैज्ञानिक समेतको मृत्यु भएको थियो।

बखलामा इरानले खाडी क्षेत्रभर मिसाइल र ड्रोन प्रहार गरेको थियो भने उसले समर्थन गर्ने सशस्त्र समूहहरूले पनि लेबनान र यमनमा युद्धमा भाग लिएका थिए।

इरानका रक्षा मन्त्री मेहरदाद अखलाखीले आइतबार देशमाथिको कुनै पनि आक्रमणको ‘समान, निर्णायक र प्रभावकारी जवाफ’ दिने चेतावनी दिए।

‘जसले धम्की दिन्छन् उनीहरूले इरानको रक्षात्मक प्रतिक्रियाको दायरा, समय वा परिणाम निर्धारण गर्न सक्ने छैनन्,’ उनले भने।

यसैगरी आइतबार इरानको सैन्य शक्ति (इस्लामिक रिवोल्युसनरी गार्ड कप्र्स) का प्रवक्ता होसेन मोहेब्बीले नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्ताबा खामेनीले अघिल्लो दिन लिखित सन्देशमा भनेका कुरा दोहोर्‍याए।

खामेनीले जारी गरेको वक्तव्यमा उनले सैन्य कमान्डरहरूलाई ‘कुनै पनि स्तर वा प्रकारको धम्कीलाई तत्काल, प्रभावकारी र भौगोलिक रूपमा असीमित प्रतिक्रिया दिनुपर्छ’ भनेर आदेश दिए।

‘अबको अमेरिकासँगको द्वन्द्वमा भौगोलिक सीमा हुनेछैन। शत्रुलाई क्षति पुर्‍याउन ठुलो युद्ध क्षेत्र परिभाषित गरिएको छ,’ इरानी राष्ट्रिय टेलिभिजनमा मोहेब्बीलाई उद्धृत गर्दै समाचार प्रसारण भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिका इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर अझै एक–दुई लक्ष्य ‘सम्हाल्न’ बाँकी रहेको बताएका थिए।

‘हामीले उनीहरूको आणविक क्षमता नष्ट गरिसकेका छौँ। अझै एक–दुई ठाउँ बाँकी छन् तर हामी त्यो १० मिनेटमै गर्न सक्छौँ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भने।एएफपी

प्रकाशित: १५ कार्तिक २०८३ १८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App