१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:३३ पूर्वाह्न
राजनीति

वामदेवलाई प्रश्न: झलनाथसँग भेटको अन्तर्य के हो?

‘माधव–झलनाथ वाकसंग्रामले पार्टीलाई फाइदा गर्दैन’

नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच चलेको वाक युद्धले पार्टीलाई फाइदा नगर्ने बताएका छन्। शनिबार डल्लुस्थित खनाल निवास पुगेका नेता गौतमले नागरिक न्युजसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। 

नागरिकन्युजले गौतमसँग ‘झलनाथसँग भेटको अन्तर्य के हो?’ भनी प्रश्न गरेको थियो। उत्तरको पृष्ठभूमिमा उनले आफूले खनालसँग शुक्रवारै समय लिएर भेट्न गएको बताए। 

‘हामी समाजवादी भएपछि हाम्रो पार्टीको सम्मानित नेतासँग राम्रोसँग भेट भएको थिएन। २ गतेको दिन मात्रै थोरै भेट भयो। त्यसपछि उहाँ कता कता जानुभयो,’ गौतमले भने, ‘अब हामी आइसकेपछि पार्टीका सबै नेता मेलमिलाप गरेर जाऊँ, पार्टीमा झगडा नगरौँ, पार्टीभित्रका कुरा बाहिर नलैजाऊँ भन्न नै म गएको हो।’ खनाल र आफ्नो ४ घण्टा भेटवार्ता चलेको उनले बताए। 

पछिल्लो समय अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिचको वाक्युद्धबारे पनि आफूलाई चिन्ता रहेको र त्यसबारे पनि कुरा गरेको गौतमले सुनाए। ‘दुइटा ठुला नेताको बिचमा यसरी वाकसंग्राम चल्दा पार्टीलाई फाइदा पुग्दैन। मैले त्यही कुरा झलनाथ कमरेडसँग पनि भने, माधव कमरेडसँग पनि भन्छु,’ गौतमले भने। 

दुई नेताको यो विवादमा आफू भने कसैको पक्ष धरता नलिने गौतमले बताए। उनले भने, ‘मेरो माधव नेपाल र झलनाथ खनाल दुवैसँग फरक–फरक सम्बन्ध छ। मैले विगतमा कहिले माधव, कहिले झलनाथसँग काम गरेको छु। दुवैलाई सहयोग गरेको छु। अहिले भने म मिलाउने कोसिसमा लाग्छु।’  

‘दुई नेताले एक अर्कालाई पार्टीबाट निस्केर जान भनिसकेको अवस्थामा मिल्ने सम्भावना छ र?’ भनेर सोधिएको प्रश्नमा गौतमले ‘मिल्नै पर्ने’ जवाफ दिए।

यद्यपि नेताहरूले अहिले दिइएका अभिव्यक्ति निकै गैह्र जिम्मेवार र संगीन रहेको उनले बताए। ‘अब उहाँहरू कसरी जानुहुन्छ भन्न सकिन्न। पार्टीभित्र छलफल हुनुपर्छ । बाहिर यस्ता कुरा बोलेको स्वीकार्य हुन्न,’ उनले भने, ‘कम्युनिस्ट पार्टीभित्र मात्र होइन, अन्य पार्टीमा पनि पार्टीबाहिर यस्ता कुरा स्वीकार्य हुन्नन्।’  

विवादकै बिचमा पार्टीले सचिवालयदेखि केन्द्रीय समिति बैठक आह्वान गर्नु सकारात्मक रहेको उनले बताए। ‘यी विषय अब पार्टीभित्र छलफल हुनुपर्छ। सबैले मन माझेर एक ढिक्का भएको सन्देश दिनुपर्छ,’ नेता गौतमले भने। 

प्रकाशित: २४ श्रावण २०८२ १८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App