४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

विश्वप्रकाशको प्रश्न: जेन-जी आन्दोलनले हटाएको व्यक्ति नै प्रधानमन्त्री हुने भए के बदलियो ?

विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफूहरूले नै विनम्र आग्रह गरेर नेतृत्वबाट अलग हुन प्रेरित गरेको बताएका छन्।

गुल्मीमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र नेतृत्व परिवर्तनको निर्णय सम्मानपूर्वक र संवादमार्फत गरिएको दाबी गरे। ‘हामीले पटक–पटक प्रधानमन्त्री भइसक्नुभएका सभापतिजीलाई अब जिम्मेवारी नयाँ पुस्तामा सुम्पनुपर्छ भनेर आदरपूर्वक आग्रह गर्‍यौँ, उहाँले पनि छोड्नुभयो,’ शर्माले भने।

उनले ‘जेनजी आन्दोलन’को प्रसंग उठाउँदै केपी शर्मा ओलीमाथि प्रश्न तेर्स्याए। आन्दोलनका बेला प्रधानमन्त्री पद छाड्नुपर्ने, तर चुनावपछि फेरि उही अनुहार प्रधानमन्त्री बन्नुपर्ने अवस्था किन आयो भन्ने जिज्ञासा उनले राखे।

‘त्यो बेला देशको प्रधानमन्त्री को हुनुहुन्थ्यो? हामी पनि सरकारमा थियौँ, कमजोरीको जिम्मेवारीबाट भाग्दैनौँ,’ उनले भने, ‘सबै दोष एउटै व्यक्तिको टाउकोमा हाल्दैनौँ। तर आन्दोलन हुँदा पद छोड्ने, चुनावपछि फेरि उहाँलाई नै प्रधानमन्त्री बनाउने भनेपछि बदलियो के?’

शर्माले केवल हात हल्लाउँदै देश दौडिएर मात्रै प्रधानमन्त्री बन्न नसकिने टिप्पणी पनि गरे। उनले दलहरूलाई आफ्नै घोषणापत्रका वाचा स्मरण गर्न सुझाए।

‘हामी घोषणापत्रका अक्षर–अक्षरप्रति सजग छौँ। घोषणापत्र लेख्ने समितिको संयोजक पनि आफैंले हेरेर अघि बढेका छौँ,’ उनले भने, ‘देश बनाउन केवल एउटा अनुहार प्रधानमन्त्री बनाउँदा मात्र पुग्दैन। नीति, दृष्टि र प्रतिबद्धता मुख्य कुरा हो।’

उनको अभिव्यक्तिले नेतृत्व, जवाफदेहिता र राजनीतिक प्रतिबद्धतामाथि फेरि बहस सुरु गराएको छ।

 

प्रकाशित: १६ फाल्गुन २०८२ १५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App