संघीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ आज (बुधबार) हुँदैछ। समितिको ११औं बैठक बिहान ११:१५ बजे बस्दैछ।
संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा निर्वाचन आयुक्तहरूमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो सोही अनुसार आज प्रमुख आयुक्त कार्कीको सुनुवाइ हुन लागेको हो।
यसअघि मंगलबार समितिको बैठकमा अन्य दुई प्रस्तावित आयुक्तहरू वाग्ले र डा. सुब्बाको सुनुवाइ तथा कार्ययोजना प्रस्तुति भइसकेको छ।
सो क्रममा सांसदहरूले निर्वाचन प्रणालीलाई पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष बनाउनुका साथै विदेशमा रहेका मतदाताको मतदान सुनिश्चित गर्ने विषयमा ठोस कार्ययोजना ल्याउन प्रस्तावित आयुक्तहरूलाई आग्रह गरेका थिए।
जवाफमा प्रस्तावित आयुक्त वाग्लेले नेपाली नागरिकता नत्यागेका अन्य मुलुकको नागरिकता नलिएका र स्थायी बसोवासपत्र नलिएका व्यक्तिलाई कानुन बनाएर मताधिकार दिन सकिने बताएका थिए।
अर्का प्रस्तावित आयुक्त डा सुब्बाले भने प्रजातान्त्रिक शासन व्यवस्थामा प्रभावकारी निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलाई प्रविधिको सहयोगमा सञ्जीवनी संस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: १३ श्रावण २०८३ ०७:४७ बुधबार





