१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रस्तावित राजदूत खरेलमाथि राजीव खत्रीको आर्थिक अनियमितताको आरोप

मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलमाथि आर्थिक लेनदेन, स्वार्थको द्वन्द्व र अनियमिततासम्बन्धी आरोप उठेपछि उनको संसदीय सुनुवाइ स्थगित भएको छ। थप अध्ययन गर्नुपर्ने भएपछि सुनुवाइ प्रक्रिया अघि नबढाइएको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले सुनुवाइका क्रममा खरेलमाथि विभिन्न आरोप लगाएका थिए। उनले खरेलविरुद्ध आर्थिक लेनदेन, म्यानपावर व्यवसायीसँगको सम्बन्ध, बेरुजु तथा जग्गासम्बन्धी कारोबारमा अनियमितता भएको भन्दै उजुरी र कागजात प्राप्त भएको बताए। 

खत्रीले झापाका केही स्थानीयसँग अनुदान मिलाइदिने भन्दै लाखौं रुपैयाँ लिएको आरोप खरेलमाथि लगाए। राजदूतमा नियुक्तिका लागि सिफारिस भएपछि मात्रै उनले उक्त रकम फिर्ता गर्न सुरु गरेको दाबी पनि खत्रीले गरे। 

त्यस्तै, रकम लिएपछि केही व्यक्तिलाई सामाजिक सञ्जालमा ब्लक गर्ने तथा कालोसूचीमा राख्ने गरेको भन्दै प्रमाणसहितका उजुरी प्राप्त भएको उनले बताए। 

खत्रीले केही म्यानपावर व्यवसायीसँग राजदूत बनेपछि उनीहरूका लागि काम गरिदिने भन्दै रकम लिएको , म्यानपावर कम्पनीले उपलब्ध गराएको गाडी खरेलले प्रयोग गरेको र त्यससम्बन्धी गाडी नम्बरसमेत प्राप्त भएको उनको भनाइ थियो। 

विभिन्न संघसंस्थामा काम गर्दा लाखौं रुपैयाँ बेरुजु रहेको आरोपसमेत खत्रीले लगाए। पोखरामा जग्गा मिलाइदिने भन्दै करोडौं रुपैयाँ लिएको विषय कागजातसहित आएको र तराई–मधेस क्षेत्रका जग्गासम्बन्धी कारोबारमा पनि खरेलको नाम जोडिएको उनले सुनुवाइका क्रममा उल्लेख गरे। 

यी आरोपमाथि थप अध्ययन र स्पष्टता आवश्यक रहेको भन्दै खरेलको सुनुवाइ स्थगित गरिएको हो। 

प्रकाशित: २८ आश्विन २०८३ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App