३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

विज्ञबाट मन्त्री छान्न प्रस्ताव

करिब दुई तिहाइ सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनका लागि आन्तरिक छलफलमा जुटेको छ। रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद बनाउने सहमति चुनावअघि नै गरिसकेको छ। अहिले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबिच छलफल चलिरहेको छ। रास्वपाले जनताको चाहनाबमोजिम चुस्तदुरुस्त सेवा प्रवाह गर्न सक्ने क्षमता भएका सांसदलाई सरकारमा पठाउने तयारी गरेको छ।

रास्वपाकी सहायक प्रवक्ता प्रतिभा रावलले कसकसलाई मन्त्री बनाउने पठाउने भन्नेबारे छलफल सुरु भइनसकेको बताइन्। उनले दुई नेताहरूबिच भेटघाट हुने र छलफल हुने क्रम नियमित रहेको जानकारी दिइन्। ‘सरकारमा मन्त्रीका रूपमा कोको जाँदै छन् वा कस–कसलाई पठाइँदै छ भनेर छलफल सुरु भएको छैन। नेपाली जनताले दिएको जनमतका आधारमा चुस्तदुरुस्त सेवा प्रवाह गर्न सक्ने व्यक्तिहरूलाई सरकारमा पठाइनेछ,’ उनले भनिन्, ‘जनताले दिएको म्यान्डेटलाई मध्यनजर गरेर मन्त्रिपरिषद् गठन हुन्छ तर व्यक्ति चयनको विषयमा छलफल भइसकेको छैन।’

अहिले पार्टीको विधान परिमार्जन गर्ने विषयमा पनि छलफल भइरहेको रावलले बताइन्। ‘विधानमा केही प्रक्रियागत विषय मिलाउनुपर्ने भयो भने मिलाइनेछ,’ उनले भनिन्। शाहलाई संसदीय दलको नेता चयन गर्न पनि रास्वपाले आफ्नो विधान परिमार्जन गर्नुपर्ने हुन्छ।

दुई दिनयता रास्वपाका केही नेतासहित सभापति लामिछाने र वरिष्ठ नेता शाहबिच सरकार गठनबारे विभिन्न चरणमा छलफल जारी छ। रवि बिरामी भएका कारण उनकै घरमा भेटघाट र छलफल भइरहेको जनाइएको छ।

रास्वपाका नेताहरूका अनुसार भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका नेता शाहले निर्वाचित सांसदहरूमध्ये विज्ञहरूबाटै मन्त्री छान्ने प्रस्ताव गरिरहेका छन्। ‘अहिले मन्त्रालयको पुनःसंरचना र डेलिभरी दिन सक्ने टिम निर्माणमा छलफल भइरहेको छ। सय दिनमा जनताले आभास गर्ने गरी डेलिभरी कसरी दिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ,’ शाहनिकट एक सांसदले भने।

शाहले एकाध मन्त्री सांसदभन्दा बाहिरबाट ल्याउने प्रस्ताव गरेका थिए। ‘केही विज्ञ व्यक्तिहरू बाहिरबाट मन्त्रिपरिषद्मा ल्याउने पुरानो अभ्यास पनि छ। त्यहीअनुसार छलफल चलेको हो। तर निर्वाचित सांसद पनि धेरै जना विषय विज्ञ रहेकाले उनीहरूकै विषयमा छलफल चलेको छ,’ शाहनिकट ती सांसदले भने।

शाहलाई पार्टीमा वरिष्ठ नेता दिएर ल्याउँदा समानुपातिकमा र प्रत्यक्षमा ४० टिकट वितरण भएकाले मन्त्रिपरिषद्मा सहभागिता पनि त्यहीअनुसार हुनुपर्ने रवि पक्षका सांसदहरूको भनाइ छ। यो विषयमा रविले पनि आफ्नो टिमसँग आन्तरिक छलफल गरिरहेको स्रोतले जनाएको छ।

अहिलेको संविधानअनुसार संसद्भित्रैबाट सरकार गठन गर्नुपर्ने र बाहिरबाट ल्याए ६ महिनाभित्र सांसद बन्नुपर्ने बाध्यताका कारण निर्वाचितहरूबाटै मन्त्री बनाउने गरी कोर्स अगाडि बढेको बताइएको छ। संसद्बाहिरका विज्ञलाई मन्त्री बनाउने विषयमा शाहले चलाएको छलफलमा लामिछाने सकारात्मक देखिए पनि संविधानमा भएको प्रावधानले रोकेपछि भने एकाध व्यक्तिबाहेक अन्यका हकमा सांसदबाटै मन्त्री बनाउने गरी छलफल थालिएको छ।

नयाँ सरकार गठनका लागि चैत ५ सम्म संसदीय दलको नेता चयन गर्ने गरी रास्वपा अघि बढिसकेको छ। वरिष्ठ नेता शाहले आफूलाई सहज हुने मन्त्रिपरिषद् गठन गर्ने प्रस्ताव गरेका छन्। उनले लामिछानेलाई सरकार गठनको जिम्मा वा मन्त्रीहरू छान्ने जिम्मा आफूलाई दिन प्रस्ताव गरेका छन्।

शाहले सभामुख, उपसभामुख, प्रमुख सचेतक, सचेतक समितिका सभापतिहरू लामिछानेलाई छान्न प्रस्ताव गरेका छन्। तर रविले यो विषय मौन रहेर पनि आफ्ना तर्फबाट कोही मन्त्री नहुने हो भने पार्टीभित्र अप्ठेरो हुने संकेत गरिरहेको बताइएको छ। शाहले मन्त्रीहरू आफूले छनोट गर्ने संकेत गरेपछि आफ्ना निकट रहेका नेताहरूसँग लामिछानेले छलफल गरेका छन्।

सभापति लामिछानेको समूहबाट इन्जिनियर, डाक्टर, प्राध्यापक र कानुनविद्हरू निर्वाचित भएर आएका छन्। विषय विज्ञताका हिसाबले दुवैतर्फ उत्तिकै सांसद रहेका कारण दुवैलाई मन्त्री छान्न अप्ठेरो परिरहेको छ।

रास्वपाले आइतबार समानुपातिक तर्फको सूची आयोगलाई बुझाएपछि त्यहाँबाट निर्वाचित भएका केही व्यक्तिलाई पनि मन्त्रिपरिषद्मा समेट्ने उद्देश्य राखेको छ। साथै सुरुमा केही मन्त्रालय खाली राखेर दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने गरी अगाडि बढ्न लागिएको पनि रास्वपाका केही नेताको दाबी छ।

प्रकाशित: ३० फाल्गुन २०८२ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App