नेकपा (एमाले)का सचिव महेश बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न विशिष्ट व्यक्तित्व, सर्वसाधारण तथा जनमानसले देखाएको समवेदनाले दुःखको घडीमा देखिने मानवीयता, सभ्य समाज र राजनीतिक संस्कारको सुन्दर उदाहरण प्रस्तुत गरेको बताएका छन्।
बस्नेतले यस कठिन घडीमा समवेदना व्यक्त गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायत सबै नेताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले 'पिताको अनुपस्थितिले ल्याउने रित्तोपन मलाई महसुस छ' भन्दै मर्मस्पर्शी समवेदना प्रकट गरेको उल्लेख गर्दै बस्नेतले यसले नेपाली संस्कार कति उदार र उच्च छ तथा अरूको दुःखमा आफूलाई देख्ने नेपालीपन प्रस्तुत गरेको बताएका छन्।
बस्नेतले स्वर्गीय मोहनप्रसादप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष केपी शर्मा ओली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
यस्तो छ उनको स्टाटस:
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति विशिष्ट व्यक्तित्व, सर्वसाधारण र जनमानसले देखाउनु भएको समवेदनाले दुःखको घडीमा देखिने मानवीयता, सभ्य समाज र राजनीतिक संस्कारको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
यस कठिन घडीमा समवेदना व्यक्त गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने , नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सबै नेताहरूप्रति हार्दिक धन्यवाद। साथै रास्वपाको बरिष्ट नेता बालेन्द्र शाहले "पिताको अनुपस्थितिले ल्याउने रित्तोपन मलाई महसुस छ” भन्दै मर्मस्पर्शी समवेदना प्रकट गर्नु भएको छ। यस्ले हामि नेपाली संस्कारमा कति उदार र कति उच्च छौ र अरुको दुखमा आफुलाई देख्छौ भन्ने नेपालीपन प्रस्तुत गर्छ।
स्वर्गीय हजुरबुबा मोहनप्रसाद ओलीप्रति हार्दिक श्रद्धाञ्जली तथा अध्यक्ष केपी ओली साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना।
प्रकाशित: ३० फाल्गुन २०८२ ०७:४९ शनिबार

