प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायहरूमा अड्किएका फाइलहरूको फछ्र्यौट नभएको भए उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
हालै सम्पन्न ‘शून्य बाँकी फाइल सप्ताह’ का क्रममा पनि काम नबनेका सेवाग्राहीलाई लक्षित गर्दै सरकारले यस्तो आह्वान गरेको हो।
कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै तीनवटै तहका सरकारी निकायबाट फछ्र्यौट हुन नसकेका फाइलका सम्बन्धमा गुनासो दर्ता गर्न अनुरोध गरेको छ।
सेवाग्राहीले प्रधानमन्त्री कार्यालय मातहतको ‘हेलो सरकार’ शाखाको टोलफ्री नम्बर ११११ मा फोन गरेर वा तोकिएको वेबपेजमार्फत आफ्नो उजुरी टिपाउन सक्नेछन्।
सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन गत चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म देशभर ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गरेको थियो। सोही अभियानको समीक्षा र गुनासो सुनुवाइ गर्न यो सूचना जारी गरिएको हो।
अनलाइनमार्फत उजुरी गर्न चाहनेले https://gunaso.opmcm.gov.np/register मा गएर आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्।

प्रकाशित: ९ वैशाख २०८३ २०:१३ बुधबार





