राजावादी अभियन्ता दुर्गा प्रसाईँले आफूले काठमाडौँ महानगरपालिकाका मेयरको ‘पोल’ खोलिदिएकै कारण पछिल्लो पटक कमजोर मुद्दामा पक्राउ गरेको टिप्पणी गरेका छन्। शनिवार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो दाबी गरेका हुन्।
‘कमजोर मुद्दामा मलाई पक्राउ गरेपछि मैले बन्दी प्रत्यक्षीकरणको रिट हालेको थिएँ। मलाई अदालतले ७ गते(मंसिर) छाड्दै थियो। मलाई त्यो पनि थाहा थियो,’ प्रसाईँले भने, ‘किनभने मलाई बिना कारण थुनेको थियो, सिडिओले। मुद्दाको नाम पनि अभद्र कि कुन्नि के लगाएको थियो।’
त्यसपछि मंसिर ६ गते बेलुका आफू हिरासतमै रहेका बेला प्रधानमन्त्री सुशीला कार्कीबाट फोन आएको प्रसाईँले दाबी गरे। ‘६ गते बेलुका मलाई प्रधानमन्त्रीबाट फोन आयो,’ उनले भने, ‘आइसकेपछि–दुर्गा जी तपाईँले उठाउनुभएका माग सर्वहारा वर्ग, भुइँमान्छे, जो कम्युनिस्टले उठाउनुपर्ने माग तपाईँले उठाउनुभएको छ। एक पटक वार्ता गरौँ न।’ प्रधानमन्त्री कार्कीबाट आफूले उठाएका मागमा उनी सकारात्मक भएको कुरा आएको प्रसाईँले दाबी गरे।
‘तपाईँले जुन कुरा उठाउनुभएको छ। एकदम नागरिकको जनजीविकाको सवालसँग सम्बन्धित छन्’ भनेर प्रधानमन्त्री कार्कीले भनेको पनि उनले दाबी गरे।
‘उहाँले भन्नुभयो–एक पटक वार्ता गरौँ न। हिजो अस्ति विध्वंस भएको फेरि तपाईँ किन विध्वंस मच्चाउनुहुन्छ? आखिर विध्वंस नमच्चाईकन तपाईँका माग पूरा भए किन नगर्ने?’ प्रसाईँले भने।
यसरी आफूलाई पहिलो चोटि प्रधानमन्त्रीबाट कुरा आएको उनले टिप्पणी गरे। उनले भने, ‘हिजो खड्गप्रसाद ओली सरकारले, प्रचण्ड सरकारले हाम्रा माग त सुनेको थिएन नि। कमसेकम अहिलेको सरकार जसरी बने पनि प्रधानमन्त्री नै हो नि।’ आफ्ना माग प्रधानमन्त्रीको टेबुलमा पुग्छन् भने आफूले आन्दोलन छाडेर वार्तामा जाने निष्कर्षमा पुगेको उनले बताए।
त्यसपछि आफूले प्रेम दीप लिम्बु र आफ्ना छोरासँग १० बुँदे माग गृहमन्त्री ओमप्रकाश अर्याल कहाँ पठाएको उनले बताए। धेरै सोचेर ‘विध्वंस नमच्चाई माग पूरा भए’ वार्ता गर्ने निष्कर्षमा पुगेको उनले बताए।
गृहमन्त्रीले भने–एक्लै भेटौँ, मैले हुन्न भनेँ
आफू छुटिसकेपछि गृहमन्त्री अर्यालले आफूसँग ‘दुई जना कसैले थाहा नपाउने गरी भेटौँ’ भनेको प्रसाईँले दाबी गरे। ‘म यसो गएँ, उ त्यहाँ पुगेपछि फर्किएँ,’ उनले भने,‘म त्यसरी बस्दिनँ। मैले गृहमन्त्रीलाई खबर पठाएँ–त्यसरी बस्दिनँ भनेर। बस्ने भए ओपन बस्छु। सबैलाई थाहा होस्। किनभने मलाई लुकाएर कुनै मन्त्री माग्नु छैन।’
आफूले उठाएका माग नेपाल र नेपाली जनताका रहेको बताउँदै उनले आफ्नो ऋण मिनाहा नमागेको पनि दाबी गरे।
प्रकाशित: १३ मंसिर २०८२ १५:१७ शनिबार


-600x400.jpg)


