जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठ नियुक्तप्रति गम्भीर आपत्ति जनाएकी छन्। उनले कोष जस्तो विशुद्ध रूपमा प्रकृति संरक्षण, जैविक विविधता जोगाउने तथा समस्यामूलक वन्यजन्तुको व्यवस्थापन गर्ने संस्थामा विज्ञता र अनुभव भएको व्यक्तिलाई मात्रै नेतृत्वमा नियुक्त गर्नुपर्नेमा जोड दिएकी छन्।
बमका अनुसार यस्तो संवेदनशील संस्थामा गैर–विज्ञ व्यक्तिलाई भावनात्मकता र कृपावादका आधारमा नियुक्त गर्नुले वन्यजन्तु संरक्षण र समग्र प्रणालीमै नकारात्मक असर पार्न सक्छ। उनले प्रधानमन्त्री संरक्षक रहने उक्त संस्थामा योग्यता र विज्ञताको आधारमा नियुक्ति हुनुपर्ने स्पष्ट धारणा राखिन्।
'कुनै विज्ञता बिना नै प्रधानमन्त्री ज्यूले भावनात्मकता र कृपावादको प्रयोग गर्दै आफ्नो कुनै मान्छेलाई भर्ती गर्दा ती तमाम समस्यामूलक वन्यजन्तुहरूमाथि समेत अन्याय हुनेछ,' उनले भनेकी छन्।
उनले सरकारप्रति अहिलेसम्म सकारात्मक समर्थन रहेको उल्लेख गर्दै सरकारका सबै निर्णयहरू समर्थनयोग्य नहुने बताइन्। 'राज्यका संस्थाहरू भावना र आफ्नोपनका आधारमा होइन, योग्यता र दक्षताका आधारमा सञ्चालन हुनुपर्छ,' उनले भनिन्।
यस्तै, उनले प्रधानमन्त्रीका स्वकीय सचिवको भूमिका सरकारको सफलतामा महत्वपूर्ण भए पनि अन्तिम समयमा आएर पदमुखी देखिनु अस्वाभाविक भएको टिप्पणी गरिन्। बमले सम्बन्धित व्यक्तिले नैतिकताको आधारमा उक्त नियुक्ति अस्वीकार गर्नुपर्ने बताउँदै त्यसले सरकारको छविमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरिन्।
उजले सामाजिक सञ्जालमा लेख्छिन्, 'सरकार सफल हुनमा प्रधानमन्त्रीका स्वकीयको पनि मुख्य भूमिका रहेको छ। तर यत्रो सफलता पाइसकेको प्रधानमन्त्रीको स्वकीय जस्तो गौरवमय पदमा ऐतिहासिक काम गरिसक्नुभएका व्यक्तिले अन्त्यतिर आएर पदमुखी हुनु अस्वाभाविक देखिन्छ।'
उनले सरकारको उपलब्धिमा कुनै दाग लाग्न नदिन सम्बन्धित व्यक्तिले जिम्मेवार निर्णय लिनुपर्नेमा जोड दिएकी छन्।
'उहाँले नैतिक रूपमा यो नियुक्ति अस्वीकार गरेर देश र प्रधानमन्त्रीलाई नै धन्यवाद दिनुपर्थ्यो। यो पद अस्वीकार गर्नु उहाँको नैतिक जिम्मेवारी हो र उहाँको सफलतामा अझ सुगन्ध छर्नुपर्ने दायित्व पनि हो,' बमले भनिन्, 'सरकारको यो सफलतामा अन्तिममा आएर दाग लाग्न नदिने जिम्मेवारी पनि उहाँकै हातमा छ।'
प्रकाशित: ३ चैत्र २०८२ १०:०६ मंगलबार





