१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री संसद्‌मा अनुपस्थित हुनु मर्यादाविपरीत: केसी

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संसद्को मर्यादा र परम्पराविपरीत प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएको भन्दै असन्तुष्टि व्यक्तगरेका छन्।

बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता केसीले प्रधानमन्त्रीको उक्त कदमले संसद्‌मा गम्भीर असन्तुष्टि सिर्जना गरेको बताएका हुन्।

संसद्को न्यूनतम मूल्य र मान्यतालाई बेवास्ता गर्दै प्रधानमन्त्रीबाट देखाइएको व्यवहारप्रति उनले आपत्ति जनाए।

‘संसद्को मर्यादा, परम्परा र न्यूनतम मूल्यलाई स्वीकार नगरी प्रधानमन्त्रीबाट जुन खालको व्यवहार भयो, त्यसले संसद् भित्र असन्तुष्टि देखिएको छ,’ नेता केसीले भने, ‘कम्तीमा प्रत्युत्तरको समयमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण हो।’

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री नआउनु गैरजिम्मेवार कदम भएको उनले टिप्पणी गरे। नीति, प्रक्रिया, पद्धति र दिशानिर्देश गर्ने राष्ट्रको घोषणापत्र प्रधानमन्त्रीकै नेतृत्वमा निर्माण हुने भएकाले संसद्‌मा उपस्थित भएर उनले त्यसमाथि आफ्नो अपनत्व देखाउनुपर्ने केसीको भनाइ छ।

यदि प्रधानमन्त्री बालेन शाह आगामी बैठकहरूमा पनि सम्बोधनका लागि उपस्थित नभए परिस्थिति थप जटिल बन्ने चेतावनी उनले दिएका छन्।

प्रधानमन्त्री नआएको खण्डमा आफूहरू संसद् बहिष्कार गर्ने स्थितिसम्म पुग्न सक्ने उनले स्पष्ट पारे। यद्यपि, यस विषयमा आफ्नो दलका सभापति तथा सत्ता पक्षसँग निरन्तर कुराकानी भइरहेको र छिट्टै सहमतिको कुनै बिन्दु निस्कनेमा आफू विश्वस्त रहेको उनले जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०८३ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App