नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला समितिले आइतबार गरेको ‘मिनी संसद’ कार्यक्रममा पुनले जनतामा निराशा बढ्नुमा पुराना दलका कार्यशैली जिम्मेवार रहेको बताए ।
पुराना दलले कमजोरी स्वीकारेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा र असन्तोषमा कमी आउने उनको भनाइ थियो । उनले पुराना दलमध्ये कमजोरी स्वीकार गर्न र सच्याउन तत्पर हुनेमा आफ्नो दल र अध्यक्ष पुष्पकमल दाहाल अगाडि रहेको दाबीसमेत गरे ।
पुराना दलका कमजोरी र कार्यशैलीमाथि प्रश्न उठाएर लोकप्रियतावादी शक्तिको उदय हुन खोजेको पुनले उल्लेख गरे । तर, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमा कमजोरी स्वीकार नगर्ने र सच्चिन तयार नहुने चरित्र रहेको टिप्पणी उनको छ ।
‘माओवादी केन्द्र र त्यसको मूल नेतृत्वले आफ्नो कमजोरी स्वीकार गर्छ र फेरिन तयार छ । तर, केपी ओलीजीजस्ता व्यक्तिहरु कहिल्यै गल्ती स्वीकार्नै तयार हुनुहुन्न । गल्ती नगर्ने पार्टी र नेता नै हुँदैन । गल्ती हुन सक्छ । तर, गल्ती स्वीकार गरेर सच्याउन तयार हुनुपर्छ’, पुनले भने ।
राज्यले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ भन्ने नीति लिँदा आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेर काँग्रेस–एमाले एकै ठाउँमा उभिएको पुनले बताए । ‘हामीले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ भन्ने कुरामा जोड दियौं । काँग्रेस–एमालेसँग हाम्रो बाटो फरक भयो’, पुनले भने, ‘अहिले राज्य नै नोकरशाही पुँजीपति वर्गको स्वार्थमा चलेको छ ।’
प्रकाशित: १ भाद्र २०८२ १६:४६ आइतबार





