प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित तवरले सम्पन्न गर्न आवश्यक सबै तयारीमा कमी हुन नदिन मुख्य निर्वाचन अधिकृत र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएकी छिन्।
शुक्रवार बिहान ताप्लेजुङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत परिसरमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई निष्पक्ष, भयरहित र त्रुटिरहित बनाउन आवश्यक सबै तयारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन्। निर्वाचनमा मतदाताको व्यापक सहभागिता रहनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले आवश्यक शान्ति सुरक्षामा कुनै कमी हुन नदिन निर्देशन दिइन्। उच्च हिमाली भेगका मतपेटिका व्यवस्थापनका विषय समेत सरकारले योजना बनाइसकेको प्रधानमन्त्री कार्कीको भनाइ छ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा अधिकारीले कार्ययोजना बनाएर अवस्था दर्काइसकेकोले सरकारले यसका लागि आवश्यक तयारी गरिरहेको कार्कीले बताइन्। सरकार निर्वाचनलाई बिना व्यवधान सम्पन्न गराएर जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियामा रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ।
करिब १ घण्टा १० मिनेट छलफल तथा निर्देशन गरेकी प्रधानमन्त्री कार्कीको अधिकांश समय निर्वाचनमा मतदाताको आम सहभागिता र निष्पक्ष तथा भयरहित निर्वाचनको विषय केन्द्रित रहेको थियो। प्रधानमन्त्री कार्की समक्ष मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विकास श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सम्पादन भइरहेका गतिविधि तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जिल्लाको सुरक्षा अवस्था र सम्भावित चुनौती बारे अवगत गराएका थिए।
नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रवार बिहान ताप्लेजुङ आएकी प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन गरेकी थिइन्। मन्दिरको दर्शनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेकी प्रधानमन्त्री कार्कीले खुल्ला मौसम र पारिलो घामकाबिच मन्दिरको दर्शन गर्न पाएको भन्दै पाथीभरा मातासँग आफूले शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको बताइन्।
३ हजार ७९४ मिटर उचाइको पाथीभरा मन्दिरको दर्शन गर्न पुग्दा त्यहाँ पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए। प्रधानमन्त्री कार्की शुक्रवार सुनसरीको इटहरीबाट ताप्लेजुङ आएकी थिइन्। यहाँस्थित नेपाली सेनाको दुर्गादल गुल्ममा दिवा खानापछि उनी काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित: १ फाल्गुन २०८२ १२:०८ शुक्रबार





