सरकारले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्री शाह २०८३ असोज ६ देखि १० गतेसम्म हुने महासभामा सहभागी हुनेछन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेले प्रधानमन्त्रीको विदेश भ्रमण, नयाँ मन्त्री सिफारिस, विभिन्न पदमा नियुक्ति तथा बढुवासहितका महत्त्वपूर्ण निर्णयहरूबारे जानकारी दिए।
उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत भइसकेको जानकारी दिँदै मन्त्री पोखरेले नयाँ उद्योगमन्त्रीका रूपमा सुनसरीका सांसद दीपक साहको नाम सिफारिस भएको पुष्टि गरे। साहको शपथग्रहण छिट्टै हुने उनले बताए।
बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यस्तै, भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘नेपाल-इन्डिया इन्टरगभर्मेन्टल सब-कमिटी’ को बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत रिक्त रहेको शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गरिएको छ। आयोगको सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे नियुक्त भएका छन्।
प्रशासनतर्फ, दुई सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरी पदस्थापन गरिएको छ। सहसचिव विनोदबहादुर कुँवरलाई सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव र सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ।
यसैगरी, भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूचीलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
प्रकाशित: २५ भाद्र २०८३ १७:०२ बिहीबार



-600x400.jpg)

