१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति सीले भने- ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न चीनले सहयोग गर्छ’

चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न चीनले नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार चीनको थियानजिनमा भएको उच्चस्तरीय द्विपक्षीय भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

भेटवार्तापछि बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार, राष्ट्रपति सीले उच्च गुणस्तरका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का परियोजना कार्यान्वयनमार्फत नेपालको विकासमा निरन्तर सहयोग गर्ने बताए।

राष्ट्रपति सीले ‘एक चीन नीति’ प्रतिको नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद दिँदै यही विश्वासका आधारमा चीनले नेपाललाई सहयोग जारी राख्ने स्पष्ट पारेका थिए।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले गरेको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।

उनले बीआरआई अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन आग्रह गर्दै मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु उत्थानशीलता र जनस्तरको सम्बन्ध जस्ता क्षेत्रमा चीनको सहयोगका लागि अनुरोध गरेका थिए।

यसैगरी, प्रधानमन्त्री ओलीले भेटमा लिपुलेकको मुद्दालाई पनि दृढतापूर्वक उठाएका थिए। उनले लिपुलेक पास हुँदै हुने सीमा व्यापारबारे हालै भएको चीन-भारत समझदारीप्रति नेपालको गम्भीर आपत्ति रहेको बताए।

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार दिउँसो चीन पुगेका हुन्।

उनले सम्मेलनका क्रममा अन्य विश्व नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १४ भाद्र २०८२ २१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App