नेपाली कांग्रेस सभापति गगन थापा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका छन्।
आइतबार बिहानै उनले प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै छोटो अवधिमै रास्वपा राष्ट्रिय राजनीतिमा बलियो शक्ति बनेको बताएका थिए। यसअघि कांग्रेसबाट उपसभापति पुष्पा भुसाल जाने चर्चा थियो। रास्वपाले महाधिवेशनका लागि पार्टी प्रमुखहरूलाई निम्ता गरेको थियो।
यो पनि पढ्नुहोस्
छोटो अवधिमै रास्वपा राष्ट्रिय राजनीतिमा बलियो शक्ति बन्यो : सभापति थापा
एमालेका तर्फबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली तथा नेकपाका नेता वर्षमान पुन उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउत र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुनेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पनि सहभागिता रहने जनाइएको छ।
श्रम संस्कृति पार्टीका कुनै प्रतिनिधि महाधिवेशनमा सहभागी नहुने भएका छन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन आज हुँदै छ। असार ८ र ९ गते बन्दसत्र तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तय गरिएको छ।
प्रकाशित: ७ असार २०८३ १४:१० आइतबार





