प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरुलाई राखेर राष्ट्रपति रामचन्द्र पौडेलले अहिले जेनजी प्रतिनिधिसँग छलफल गरिरहेका छन्।
सरकार गठनको एक महिना पूरा हुँदासमेत सरकारले पूर्णता पाउन नसकेको, जेनजी प्रतिनिधिले विभिन्न माग अघि सारेको, विभिन्न समूहमा जेनजीहरु विभाजित भएपछि माग सम्बोधनका लागि अप्ठेरो परेपछि निकासका लागि राष्ट्रपति पौडेलले पहल थालेका हुन्। यसअघिको छलफलमा राष्ट्रपति पौडेलले एकजुट भएर आउन जेनजीहरुलाई आग्रह गरेका थिए।
शीतल निवासामा जारी छलफलमा जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी छन्।
बैठकमा विभिन्न स्थानमा जेनजीको प्रतिनिधित्व र सहभागिता लगायत विषयमा पनि कुराकानी हुनेछ।
प्रकाशित: ३० आश्विन २०८२ १८:५४ बिहीबार





