नेपालको राजनीतिमा केही निर्वाचन क्षेत्र यस्ता हुन्छन् जसलाई 'अभेद्य किल्ला’ भनेर चिनिन्छ। जहाँ चुनाव हुन्छ, उम्मेदवार बदलिन्छन्, तर परिणाम भने प्रायः उस्तै हुन्छ। भक्तपुर क्षेत्र नम्बर १ त्यस्तै एउटा क्षेत्र थियो।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घन्टी लहर’ चलिरहेको बेला राजनीतिक वृत्तमा एउटा भनाइ निकै चर्चित थियो – ‘घन्टीको हावाले देशभरि सिट जिते पनि एउटा सिट सुरक्षित छ भने त्यो हो - भक्तपुर १।’
किनकि त्यो क्षेत्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को बलियो किल्ला थियो। तर यसपटकको चुनावले त्यो विश्वास तोडिदियो। ३४ वर्षदेखि कायम रहेको राजनीतिक परम्परा भत्कियो। रास्वपाका उम्मेदवार रुकेश रन्जित ३३ हजार ४३७ मतसहित विजयी हुँदा नेमकिपाका उम्मेदवार प्रेम सुवाल २८ हजार १४७ मत सहित दोस्रो स्थानमा सीमित भए।
भक्तपुर-१ केवल एउटा निर्वाचन क्षेत्र होइन। यो नेपाल मजदुर किसान पार्टीको राजनीतिक विराशत थियो। यहाँ पंचायतकालमा पनि यो पार्टीको प्रभाव रहेको थियो।
अझ २०४८ सालदेखि सुरु भएको त्यो यात्रा निकै रोचक छ। त्यो समयदेखि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे लगातार चुनाव जित्दै आएका थिए। २०४८, २०५१, २०५६, २०६४ र २०७० सम्म लगातार पाँच पटक उनले यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए। सदाचारी नेताको रुपमा पहिचान बनाएका बिजुक्छे सत्ताको मोहमा कहिल्यै परेनन्। सदावाहार प्रतिपक्षको भूमिका निभाउँदै एक्लो भएपनि गहकिलो उपस्थिती जनाइरहे। मन्त्री, उपप्रधानदेनदेखि प्रधानमन्त्रीसम्मको अफर आउँदा पनि अविचलित यी नेतालाई धेरैले आदर्श मान्छन्।
त्यसैले नेपालमा ठूलो दलहरूको प्रभाव हुँदा पनि भक्तपुरको यो क्षेत्र भने फरक थियो। यहाँ नेमकिपाको मादल चिन्ह राजनीतिक पहिचान बनेको थियो।
२०७४ सालमा बिजुक्छेले सक्रिय चुनावी राजनीतिबाट विश्राम लिएपछि पार्टीका नेता प्रेम सुवाल उम्मेदवार बने। सुवालले पनि त्यो विरासत जोगाए। २०७४ र २०७९ मा उनले चुनाव जिते। यसरी ३४ वर्षसम्म भक्तपुर-१ मा अरू कुनै दलले चुनाव जित्न सकेन।
किन बलियो थियो नेमकिपाको पकड ?
भक्तपुरमा नेमकिपाको पकड केवल राजनीतिक नारा मात्र थिएन। त्यहाँ केही वास्तविक कारण पनि थिए। भक्तपुर नगरभित्र शिक्षा, स्वास्थ्य र संस्कृतिको संरक्षणमा गरिएको कामलाई धेरैले उदाहरणको रूपमा लिने गरेका थिए।
पुरानो शहरको पहिचान जोगाउने काम, सांस्कृतिक सम्पदाको संरक्षण, नगरभित्रको शिक्षा प्रणाली यी सबै कारणले भक्तपुरलाई अलग मोडल मानिन्थ्यो। देशका विभिन्न जिल्लाका नेता र योजनाकारहरू पनि भक्तपुरको विकास मोडल अध्ययन गर्न पुग्थे।
काठमाडौं महानगरपालिकाको मेयर बन्नुअघि बालेन्द्र शाह (बालेन)ले पनि भक्तपुर भ्रमण गरेका थिए।
‘शिक्षा, स्वास्थ्य र संस्कृतिको संरक्षणमा भक्तपुरले गरेको काम निकै राम्रो छ।,’ त्यो भ्रमणपछि उनले सार्वजनिक रूपमा भनेका थिए,‘त्यसैले मलाई भक्तपुरका मेयर मन पर्छ।’
उनको त्यो टिप्पणी सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो।त्यतिबेला धेरैले भनेका थिए, भक्तपुरको मोडल काठमाडौंले सिक्नुपर्छ।
किन बदलियो परिणाम ?
इतिहासले देखाएको बलियो पकड यसपटक किन टिकेन ? यस प्रश्नको उत्तर धेरै तहमा खोज्न सकिन्छ। सबैभन्दा पहिलो कारण थियो, देशव्यापी राजनीतिक परिवर्तनको चाहना।
यसपटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घन्टी’ चिन्ह देशभरि चर्चामा थियो। भ्रष्टाचारविरोधी नारा,नयाँ पुस्ताको राजनीति, सुशासनको प्रतिबद्धता लगायतका कुराले धेरै मतदातालाई आकर्षित गरेको थियो।त्यो लहर भक्तपुरमा पनि पुग्यो।
चुपचाप घन्टी छाप
चुपचाप घन्टी छापको नारा रास्वपाले लगाउँदै आएको थियो। तर धेरै ठाउँमा घन्टीको पक्षमा पहिल्यै हल्ला सुनिन्थ्यो । भक्तपुरका गल्लीहरुमा घन्टीको आवाज खासै सुनिन्न्थ्यो। तर मतदानको परिणामले प्रष्ट देखायो - चुपचाप घन्टी छाप।
‘कुनै-कुनै बुथमा त घन्टीको पक्षबाट प्रतिनिधि बस्ने मान्छे पनि थिएनन्,’ भक्तपुरका एक पुराना नेमकिपा समर्थक भन्छन्, ‘तर त्यहाँ पनि मादलकै टक्करमा भोट आयो।’
उनको यो भनाइले एउटा कुरा स्पष्ट गर्छ। मतदाताको मनमा परिवर्तनको चाहना पहिल्यै जन्मिसकेको थियो।
चुनावी परिणामपछि नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। ३४ वर्षको पकड गुमाउनु सामान्य घटना होइन। त्यसैले पार्टीभित्र यसको समीक्षा गम्भीर रूपमा भइरहेको अनुमान गरिन्छ।
तर विपक्षी दलहरू भने यो परिणामको अर्को कारण पनि देखाउँछन्।
उनीहरूका अनुसार भक्तपुर नगरभित्रको विकास र व्यवस्थापन राम्रो भए पनिअन्य क्षेत्र भने ओझेलमा परेका थिए।
चाँगुनारायणको असन्तोष
भक्तपुर-१ निर्वाचन क्षेत्र दुई स्थानीय तह मिलेर बनेको छ। भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका। भक्तपुर नगरभित्र विकासका धेरै काम भए पनि चाँगुनारायण क्षेत्र भने ओझेलमा परेको गुनासो धेरै समयदेखि उठ्दै आएको थियो।
नवनिर्वाचित सांसद रुकेश रन्जित पनि यही कुरा स्वीकार गर्छन्। ‘क्षेत्र नम्बर १ को हिसाबले चाँगुनारायण क्षेत्रका धेरै भुभाग ओझेलमा पर्दै आएको छ,’ उनले भने, 'अब हामी समग्र भक्तपुरको विकासका लागि काम गर्नेछौं।' उनका अनुसार चाँगुनारायणका नागरिकहरू राजनीतिक रूपमा पनि उपेक्षित भएको महसुस गरिरहेका थिए।
यसपटकको चुनावमा त्यही असन्तोष मतमा बदलिएको स्थानीय विश्लेषकहरू बताउँछन्।
भक्तपुर १ मा भएका अप्रत्याशित विजयसँगै रुकेश रन्जित राष्ट्रिय स्तरमा उदाएका छन्। उनले खासै ठूलो अभियानको थालनी पनि गरेका थिएनन्। रास्वपाको टिकट पाएपछि उनले चुनावी अभियान सुरु गरे। उनको प्रचारको मुख्य सन्देश थियो- ‘समग्र भक्तपुरको विकास।’
यो परिणाम केवल एउटा सिटको परिवर्तन मात्र होइन। यो भक्तपुरको राजनीतिक संस्कृतिमा आएको परिवर्तन पनि हो। ३४ वर्षसम्म एउटै दलको पकड भएको क्षेत्रअचानक अर्को दलतिर जानुसामान्य घटना होइन।
अबको चुनौती
रुकेश रन्जितको जित जति ऐतिहासिक छ त्यति नै चुनौतीपूर्ण पनि छ। किनभने उनले केवल एउटा चुनाव जितेका छैनन्। उनले ३४ वर्षको परम्परा तोडेका छन्। अब मतदाताको अपेक्षा पनि ठूलो छ।
केन्द्र सरकारमा उनको दल हुने भएकाले उनलाई केही सहजता पनि छ । ‘अब हामी समग्र भक्तपुर-१ को विकासका लागि काम गर्नेछौं।’ उनले चुनावपछि भने। उनका अनुसारभक्तपुर–२ मा पनि रास्वपाका उम्मेदवार भएकाले समन्वय गरेर विकासको काम अघि बढाउन सजिलो हुनेछ।
भक्तपुरको यो परिणाम देशव्यापी राजनीतिक परिवर्तनको संकेत पनि हो। जहाँ एक समय नेमकिपाको ‘मादल’ चिन्ह अजेय मानिन्थ्यो, त्यहा समेत रास्वपाको ‘घन्टी’ बजेको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १४:२१ आइतबार





