२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नयाँ संसद् भवनको काम चैतको पहिलो साता सक्ने तयारी

सरकारले आगामी फागुन २१ गतेको निर्वाचनपछि बन्ने प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबार परिसरभित्र रहेको नयाँ संसद् भवनमा बसाउने गरी भवन निर्माणको कामलाई तीव्र बनाएको छ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले चैतको पहिलो हप्ताभित्र नयाँ संसद् भवन निर्माणको काम पूरा हुने बताए। ‘चैतको पहिलो सातासम्म हामीले काम सक्छौँ। चैतको पहिलो साता काम सकियो भने फागुन २१ गतेको निर्वाचन पछि बन्ने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक नयाँ संसद् भवनमै बस्ने छ।’ 

उनका अनुसार चैतको  पहिलो साता काम सक्ने गरी ठेकेदार कम्पनीले यतिबेला रातिसमेत काम गरिरहेको छ। ‘हामीले चाँडोभन्दा चाँडो काम सक्न ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौँ। ठेकेदार कम्पनीले अहिले दैनिक तीन सय ७५ देखि तीन सय ८० जना कामदारबाट काम गराइरहेको छ। त्यसैले ठेकेदार कम्पनीले पनि चैतको पहिलो साता काम सक्ने गरी काम गरिरहेको हामीले पाएका छौँ।’

बोहराका अनुसार यतिबेला नयाँ संसद् भवन निर्माणको काम ८७ प्रतिशत पूरा भएको छ। सहरी विकास मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘नयाँ संसद् भवन निर्माण गर्न पूरै काम सत प्रतिशत पूरा नभए पनि कमसेकम नयाँ संसद् बसाउन हल तयार गर्ने हाम्रो तयारी छ। हल तयारी भइसके पछि अन्य काम त्यसपछि हुन्छ ।’

सरकारले यही माघ ४ गते राष्ट्रिय बैठक बोलाएको छ। नयाँ संसद् भवन बनिनसकेकाले माघ ४ गते बस्ने राष्ट्रियसभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने भएको छ। नयाँ संसद् भवनको निर्माण काम पूरा भएमा राष्ट्रियसभाको बैठक पनि नयाँ संसद् भवनमा बस्ने भएको छ। 

केही दिनअघि तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङले नयाँ बन्दै गइरहेको संसद् भवनको आकस्मिक निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा उनले दुई सिफ्टमा काम गरेर भए पनि संसद् भवनको काम फागुन २१ गतेभित्र पूरा गर्न निर्देशन दिएका थिए। महानिर्देशक बोहराका अनुसार नयाँ संसद् भवनको काम सत प्रतिशत पूरा गर्न अहिले साज सजावट, सुरक्षा, लाइटिङको काम भइरहेको छ। ‘अहिले हामीसँग अर्को विकल्प नै छैन। त्यसैले जसरी भए पनि चैतको पहिलो साताभित्र नयाँ संसद् भवनको काम सक्नैपर्छ’, बोहराले भने, ‘हल नै नभएको कारणले संसद् भवनको बैठक नबसाउने भन्ने  कुरा हुँदैन। जसरी भए पनि काम सक्नुपर्छ।’

संसद् सचिवालयले सहरी विकास मन्त्रालय मातहतको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँग भाडा सम्झौता रद्द गरिसकेको छ। सरकारले २०६४ सालदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् बैठक सञ्चालन गर्दै आएको थियो। गत भदौ २४ गते भएको जेन–जी आन्दोलनमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिलेकै अवस्थामा प्रयोग गर्न नमिल्ने गरी जलेको छ। त्यसैले अब निर्वाचित हुने संसद्को पहिलो बैठक नयाँ संसद् भवनमा बसाउनैपर्ने बाध्यता सरकारलाई छ।

नयाँ संसद् भवन निर्माण गर्न सहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग गत असार १२ गते पाँचौँ पटक म्याद थप गरेको छ। त्यसैले नयाँ संसद् भवनको काम पुस १६ गते भित्रै कसरी शतप्रतिशत पूरा गर्ने भन्ने विषय यति बेला मन्त्रालयका उच्च कर्मचारीहरूको टाउको दुखाइ बनेको छ।

२०७९ सालको निर्वाचनपछि गठन हुने संसद्को पहिलो अधिवेशन सकेसम्म नयाँ भवनमा बसाउने त्यति बेलाका मन्त्रीहरूले बताएका थिए तर त्यो सम्भव भएन। त्यसपछि संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा बोलाउने भनियो। यो पनि सम्भव नभएपछि एक वर्षभित्र संसद् भवन तयार गरी संसद् अधिवेशन त्यहीँ डाक्ने घोषणा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। त्यो घोषणा पनि तोकिएको समयभित्र कार्यान्वयन भएन। नयाँ संसद् भवन निर्माण गर्न धेरै ढिलो भइसकेको छ। नयाँ संसद् भवन बनाउन ६ वर्षदेखि सुरु गरिएको हो। ६ वर्षसम्म काम पूरा भएको छैन। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते नयाँ संसद् भवनको शिलान्यास गरेका थिए। २०८० फागुनमा सहरी विकास तथा भवन निर्माण विभागले भेरिएसन अर्डर (भिओ) प्रस्ताव स्वीकृत गरेपछि संसद् भवन बनाउन ५६ करोड रुपैयाँ थप खर्च लाग्ने भएको छ। मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘संसद् भवन बेलैमा बन्न नसक्नुको एउटा कारण सरकारले ठेकेदार कम्पनीलाई कडिकडाउ गर्न नसक्नु हो। 

यसबाहेक समयमै डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) को पर्याप्त अध्ययन नहुनु, भविष्यमा आउन सक्ने जोखिम तथा कठिनाइबारे पहिले नै आकलन नहुनु, परामर्शदातालाई पर्याप्त काम गर्न नदिनुले पनि भवन बेलैमा बन्न नसकेको हो।’ पटक पटक डिजाइन परिवर्तन हुनुले पनि काममा विलम्ब भएको छ।

प्रकाशित: २९ पुस २०८२ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App