अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन तयार रहेको बताएका छन्।
मंगलबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
देशको वर्तमान अवस्था र तीन महिनाको सरकारी प्रगति हेर्दा आफू चिन्तित बनेको बताउँदै खड्काले अन्यायको विरुद्धमा एउटा सजग नागरिकको हैसियतले आफू बोल्न आएको स्पष्ट पारे।
लामिछानेसँगको भेटबारे प्रष्ट पार्दै अभिनेता खड्काले भने, ‘नयाँ सरकार आएपछि न्याय पाइन्छ कि भन्ने लागेको थियो। तर, विगत तीन महिनाको प्रगति र घटनाक्रम हेर्दा किन काम भइरहेको छैन भन्ने प्रश्न उब्जिएको छ। एउटा व्यक्तिमाथि पुरानो सरकारले कुदृष्टि राखेको हो कि भन्ने भान जनतालाई परेको थियो, अहिले पनि अवस्था उस्तै देखिन्छ।’
रास्वपालाई जनताले आशा र भरोसा गरेको शक्ति बताउँदै उनले अहिलेको घटनाक्रमले आफूलाई नख्खुसम्म तानेको बताए।
अभिनेता खड्काले नयाँ र वैकल्पिक भनिएका राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। फरक–फरक विचारधारा भएका पुराना पार्टीहरू त मिल्न सक्छन् भने झन् उस्तै उद्देश्य बोकेका नयाँ शक्तिहरू किन मिल्न नसक्ने भन्दै उनले प्रश्न गरे।
‘नयाँ पार्टीहरूले एक अर्काको भोट काट्ने काम मात्र गर्नुहुँदैन। बालेन जी, हर्क जी लगायतका नयाँ शक्तिहरू मिल्नुको विकल्प छैन,’ उनले भने, ‘यदि उहाँहरूलाई मिल्न गाह्रो भएको हो भने म आफैँ गएर रिक्वेस्ट गर्न पनि तयार छु।’
कलाकारलाई राष्ट्रको गहना भनिने विषयमा टिप्पणी गर्दै खड्काले देशको मुहार नै कुरुप भएको बेला गहनाको कुनै अर्थ नहुने बताए। ‘गहना तब सुहाउँछ, जब अनुहार चिटिक्क परेको हुन्छ। हामी (कलाकार) बासी मुख नधोएको जस्तो कुरुप अवस्थामा गहना भएर केही अर्थ छैन। देशको मुहार फेरियो भने मात्र हामी गहना भएको सार्थकता हुन्छ,’ उनले भने।
सञ्चारकर्मीले राजनीतिमा आउने सम्भावनाबारे सोधेको प्रश्नमा उनले तत्काल आफ्नो ध्यान चलचित्रमै रहेको तर भविष्यमा अवस्था हेरेर निर्णय लिन सकिने बताए।
‘म अहिले चलचित्र क्षेत्रमै रमाइरहेको छु र अझै केही वर्ष यतै योगदान दिन चाहन्छु। तर, फिल्म क्षेत्र मात्र होइन, देश नै जोगाउनुपर्ने अवस्था आयो भने म मात्र होइन, तपाईंहरू पनि आउनुपर्छ,’ उनले भने।
उनले सक्षम युवाहरूले आफ्नो परिवार र स्वार्थ मात्र हेरेर बस्दा देशको अवस्था बिग्रिएको औंल्याए।
खड्काले आफू कुनै चलचित्रको प्रचारका लागि नभई विधि र पद्धतिको शासन हुनुपर्छ भन्ने मान्यताका साथ लामिछानेलाई भेट्न आएको स्पष्ट पारे।
‘भोलि मैले पनि गल्ती गरेँ भने मलाई फोन गरेर छुटाउने मान्छे होइन, कानुन बमोजिम सजाय हुनुपर्छ भन्ने मान्यता राख्छु,’ उनले भने।
प्रकाशित: १ पुस २०८२ १७:४८ मंगलबार





