नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई आगामी पाँच वर्षभित्र देशकै उत्कृष्ट विकासको नमुना जिल्ला बनाउने उद्घोष गरेका छन्।
बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ ढकालबारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई विजयी गराएमा यस क्षेत्रको काँचुली फेर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
सम्बोधनका क्रममा प्रचण्डले रुकुम पूर्वको विकास र समृद्धिका लागि आफूसँग स्पष्ट खाका रहेको दाबी गरे।
उनले भने, ‘मलाई यहाँको प्रतिनिधिको रूपमा काम गर्ने मौका दिनुहोस्, म पाँच वर्षभित्र रुकुम पूर्वलाई यसरी विकास गर्नेछु कि देशभरिका मान्छे यहाँको नमुना हेर्न आउनेछन्। यहाँको भूगोल, संस्कृति र सम्भावनालाई हामी विश्वकै आकर्षणको केन्द्र बनाउनेछौं।’
उनले भौतिक पूर्वाधार र स्थानीय अर्थतन्त्रलाई जोड्ने योजनाहरू अघि सारे।
शहीद मार्गलाई चीनको सीमासम्म जोड्ने र पक्की बनाउने कार्य आफ्नो प्राथमिकतामा रहेको बताउँदै उनले थपे, ‘यहाँका बहुमूल्य जडीबुटीको प्रशोधन र व्यवसायीकरण गरेर गाउँमै हजारौं युवालाई रोजगारी दिनेछौं। अब रुकुमेली युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य हुनेछ।
प्रचण्डले रुकुमलाई आफ्नो लालकिल्ला र क्रान्तिको जग मान्दै यहाँका जनताको ऋण विकासमार्फत तिर्ने बताए। ‘हिजो क्रान्ति सफल पार्न रुकुमका आमाबुवा, दाजुभाइ र दिदीबहिनीले जुन त्याग गर्नुभयो, त्यसको सम्मानस्वरुप म यो क्षेत्रलाई समृद्धिको नमुना बनाउन चाहन्छु,’ उनले भने।
स्थानीय स्रोत-साधनको उच्चतम प्रयोग, शिक्षा, स्वास्थ्य र पर्यटनको आधुनिकीकरण नै आफ्नो मुख्य चुनावी एजेन्डा रहेको उनले स्पष्ट पारे।
प्रकाशित: ६ फाल्गुन २०८२ १७:२५ बुधबार





