५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

भ्रष्टाचारमुक्त समाज स्थापित गरेरै छाड्ने प्रचण्डको संकल्प

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा भ्रष्टाचारमुक्त समाज र सामाजिक न्याय स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्।

मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जनता र युवा पुस्ताले परिकल्पना गरेजस्तो देश बनाउन आफूहरू संकल्पित रहेको बताए।

सम्बोधनका क्रममा प्रचण्डले भने, ‘जनताले र हाम्रा नवयुवाहरूले जस्तो नेपाल चाहेका छन्, जस्तो सामाजिक न्याय र समृद्धि चाहेका छन्, भ्रष्टाचारमुक्त जस्तो समाजको परिकल्पना गरेका छन्, त्यस्तो समाज बनाई छाड्ने संकल्पमा हामी अगाडि बढौँ।’

उनले देशमा अहिले देखिएको निराशा र संकट चिर्न परम्परागत शैली काम नलाग्ने जिकिर गरे।

‘परम्परागत ढंगले र चल्ते चलाते तरिकाले अब देशको अगाडि उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन,’ प्रचण्डले भने, ‘विगतका कमजोरी सच्याउँदै रूपान्तरण भएर नयाँ विचार र योजनाका साथ अघि बढ्न जरुरी छ।‘

झन्डै २० वटा कम्युनिस्ट तथा समाजवादी घटकहरू मिलेर बनेको नयाँ शक्तिले नै देशको नेतृत्व लिने र जनताको चाहना अनुसारको नतिजा दिने उनले दाबी गरे।

संयोजक प्रचण्डले पार्टी एकताको प्रक्रियाले सार्थकता पाइरहेको भन्दै अब छिट्टै संगठनका तल्लो तहसम्म कार्यविभाजन गरेर काममा खटिने जानकारी समेत दिए।

प्रकाशित: २९ पुस २०८२ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App