नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीलाई वृद्धाश्रम भनिएको प्रति आपत्ति जनाएका छन्।
उनले युवा पुस्ताले ७४ वर्षकी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको प्रसंग निकाल्दै आलोचना गर्नेहरूलाई जवाफ फर्काएका हुन्।
शनिबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै दाहालले प्रश्न गरे, ‘हामी वरिपरि भएका ७० वर्षका थुप्रै नेता साथीहरू छौँ। एकथरीले हामीलाई वृद्धाश्रम भन्छन्। यदि यो वृद्धाश्रम हो भने ७४ वर्षको प्रधानमन्त्री चाहिँ कुन आश्रम हो ?’
पछिल्लो समय नयाँ पुस्ता र पुराना पुस्ताबीचको द्वन्द्व चर्किरहेका बेला दाहालले आफूहरूलाई उमेरका कारण राजनीतिबाट विश्राम लिन दबाब दिनेहरूप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले आफूहरूको शारीरिक र मानसिक क्षमतामाथि प्रश्न उठाउनेहरूलाई चुनौती समेत दिए।
‘मैले त भनेको छु, मसँग मर्निङ वाकमा कम्पिटिसन गर्न आए हुन्छ, एक्सरसाइज गर्न आए हुन्छ,’ दाहलले चुनौती दिँदै भने, ‘म के गरेर दिन बिताउँदो रहेछु जेन-जी युवाहरू पनि एक-दुई दिन हेर्न आउनुहोला।’
दाहालले अहिलेको राष्ट्रिय संकटको निकास निर्वाचन नै भएको दोहोर्याए। फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई कुनै पनि बहानामा सार्ने वा बिथोल्ने काम भए देश दुर्घटनामा जाने उनको भनाइ थियो।
उनले भने, ‘हामीले ३ करोड नेपालीलाई एकताबद्ध गरेर सबै वैदेशिक प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्ने उद्देश्यका साथ यो एकता गरेका हौं। यो कुनै खेलाँची होइन।’
प्रचण्डले कार्ल मार्क्सको कविता वाचन गर्दै आफू कठिनाइदेखि नभाग्ने र जीवनभर संघर्ष गरिरहने बताए। १६ वटा कम्युनिस्ट घटकहरूको एकता पछि आफूहरू एक नम्बर शक्ति बनेको दाबी गर्दै उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ गाउँ–गाउँ जान निर्देशन दिए।
प्रकाशित: ५ पुस २०८२ १६:४१ शनिबार



-600x400.jpg)

-600x400.jpg)