पछिल्ला पाँच कारोबार दिनदेखि लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ओरालो लागेको छ।
अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजारमा २४.४५ अंकको करेक्सन भए पनि कारोबार रकम भने बढेर १५ अर्ब रुपैयाँ नाघेको छ।
यस दिन नेप्से परिसूचक घटेर २९३५.९४ विन्दुमा झरेको छ। बजार ओरालो लागे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने उत्साह देखिएको छ।
मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा बुधबार ३४५ कम्पनीका ३ करोड ५८ लाख १९ हजार कित्ता सेयर १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँमा किनबेच भए। आज कारोबारमा आएकामध्ये ४५ कम्पनीको मूल्य बढ्दा २१३ वटाको घटेको छ भने ७ वटाको स्थिर रह्यो।
बजारमा रहेका १३ वटा उपसमूहमध्ये ११ वटाको परिसूचक राताम्मे हुँदा २ वटा मात्र हरियाली देखिएको छ। सबैभन्दा धेरै विकास बैंक उपसमूहको परिसूचक २.३२ प्रतिशतले घटेको छ।
तर, समग्र बजार ओरालो लाग्दा पनि व्यापार उपसमूह भने ३.४५ प्रतिशतले बढेको छ। यसबाहेक उत्पादन तथा प्रशोधन उपसमूह पनि सामान्य बढेको छ।
बजार घटेको दिन पनि ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य पनि ९.७ प्रतिशतले बढेको छ। उता, अभियान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशतले घटेको छ।
प्रकाशित: ११ चैत्र २०८२ १५:३६ बुधबार



