१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा प्रचण्डको उम्मेदवारी

नेपाली कांग्रेसका महासमिति सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रवक्ताको जिम्मेवारी बहन गरिसकेका न्यौपानेले कांग्रेसको १५ औँ महाधिवेशनमा आफ्नो केन्द्रीय सदस्यको उम्मेदवारी रहने जानकारी दिए। ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवारका रूपमा आफूलाई उभ्याउने निर्णय लिएको छु,’ न्यौपानेले भने, ‘कांग्रेसलाई बलियो संगठनका रूपमा स्थापित गर्ने प्रमुख एजेण्डा मेरो रहने छ।’

न्यौपाने नेविसंघका पूर्व सहमहामन्त्री समेत हुन्। कांग्रेसका वर्तमान महामन्त्री प्रदीप पौडेलले नेविसंघको नेतृत्व गर्दा न्यौपाने सहमहामन्त्री थिए। नेविसंघ केन्द्रीय पदाधिकारीको जिम्मेवारी सम्हालेका न्यौपाने कांग्रेसको १४ औँ महाधिवेशनमा कांग्रेस लुम्बिनी प्रदेश सदस्यका रूपमा निर्वाचित भएका थिए। उनी लुम्बिनी कांग्रेसको प्रवक्ता समेत चुनिएका थिए। गत प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (ख) को उम्मेदवार बनेका न्यौपाने उक्त निर्वाचनमा निर्वाचित भएका थिए।

लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने २०८१ मा लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए। लुम्बिनीको तत्कालीन उद्योग, पर्यटन तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालेका न्यौपानेले उक्त मन्त्रालयको नेतृत्व दुई वर्षसम्म सम्हालेका थिए।

कांग्रेसको केन्द्रीय सदस्यको आकांक्षीका रूपमा आफूलाई उभ्याएका न्यौपाने पार्टीभित्र पुस्तान्तरणको अपरिहार्यतालाई जोड दिँदै आएका युवा नेता हुन्। अग्रजहरूको सम्मानसहित पार्टीमा युवाहरूको सम्मानजनक सहभागिता रहनुपर्नेमा उनको जोड छ।

प्रकाशित: १७ आश्विन २०८३ १५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App