नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवाको बाढीबाट प्रभावित नुवाकोट र धादिङका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
उनले विपद्को यस घडीमा खोज-उद्धारलाई तीव्र बनाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न र दीर्घकालीन समाधानका लागि तीनै तहका सरकार मिलेर ‘एकीकृत पुनःस्थापना योजना’ अघि बढाउन माग गरे।
संयोजक प्रचण्डले नुवाकोटको बेत्रावती, त्रिशूली, देवीघाट र बेलकोटगढी तथा धादिङको गल्छी क्षेत्रमा पुगेर बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिको प्रत्यक्ष निरीक्षण गरेका हुन्।
त्यस क्रममा उनले विभिन्न होल्डिङ सेन्टरमा पुगी विस्थापित नागरिकको अवस्था, अस्थायी बसोबास, खाद्यान्न, स्वास्थ्य तथा खानेपानीको प्रबन्धबारे जानकारी लिएका थिए।
बअनुगमनका क्रममा प्रचण्डले बाढीका कारण अवरुद्ध बनेका सडक, विद्युत्, सञ्चार र खानेपानीजस्ता आधारभूत पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए।
प्रभावित क्षेत्रको ‘कनेक्टिभिटी’ पुनःस्थापित गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। यसैबीच, जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा सहभागी हुँदै उनले स्थानीय तह, राजनीतिक दल, सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रतिनिधिसँग हालसम्मको अवस्थाबारे संवाद गरे।
छलफलमा प्रचण्डले राहत र अस्थायी उद्धारमा मात्रै सीमित नभई विस्थापित नागरिकको स्थायी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा तत्काल एकीकृत पुनःस्थापना योजना ल्याउनुपर्नेमा जोड दिए।
विपद्को यस कठिन परिस्थितिमा कुनै पनि राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठ्न उनले सबैलाई आग्रह गरे। राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज तथा सामाजिक संघ-संस्था एकीकृत रूपमा खटिएर नागरिकको जीवन सामान्य अवस्थामा फर्काउने अभियानमा जुट्नुपर्ने उनको भनाइ थियो।
प्रकाशित: २७ भाद्र २०८३ २०:०० शनिबार





