नेपाली कांग्रेस केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वंसपछि पार्टीका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माका अभिव्यक्ति पदीय मर्यादा विपरीत रहेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय समितिको जारी बैठकमा बोल्दै शर्मा पौडेलले महामन्त्रीहरूविरुद्ध आक्रोश पोखेका हुन्।
‘भदौ २३ र २४ को घटनापछि भदौ २८ गते बसेको पहिलो कार्यसम्पादन समितिको बैठकले आफ्नै सभापति माथिको सांघातिक आक्रमणको निन्दा र भर्त्सनाको त कुरै छैन, स्वास्थ्य लाभसम्म भनेको छैन,’ उनले भने, ‘यो भावी पुस्ताको लागि दस्ताबेज हो।’
त्यसैले उक्त दस्ताबेज सच्याउन पनि उनले आग्रह गरे। उनले अगाडि भने, ‘यो सच्चाइयोस्। २०१७ साल पुस १ गतेको, २०५८ असोज १८ गतेको लोकतन्त्रमाथि भएको प्रहारविरुद्धको घटनाबारे अहिले हामीले खोज्दा त्यो बेलाको दस्ताबेज हेरेर थाहा पाउने हो। भोलि भावी पुस्ताले सभापतिमाथि भएको बर्बर आक्रमणपछि कांग्रेसले के भनेको रहेछ भनेर हेर्ने बेला हामीलाई ती पुस्ताले के भन्छन्?’
महामन्त्रीहरूलाई आफूहरूले विगतमा दिएको अभिव्यक्ति सुन्न सुझाउँदै केन्द्रीय सदस्य शर्मा पौडेलले महामन्त्रीको काम, कर्तव्य र अधिकार फेरि पढ्न पनि सुझाए। विधानअनुसार मंसिरभित्र १५ औँ महाधिवेशन होस् भन्ने आफूहरूले पनि चाहेको जनाउँदै उनले क्रियाशील सदस्यताको काम अघि बढ्न नसकेको बताए।
‘२०७९ साल साउनमा महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा क्रियाशील सहायता व्यवस्थापन समिति बनेको छ,’ उनले भने, ‘उहाँबाट आफूले गरेको कामको प्रगति सुन्यौँ। हालसम्म समितिको ८ वटा बैठक बसेका रहेछन्। ३ जिल्लाबाहेक ७४ जिल्लाको क्रियाशील नवीकरण बाँकी रहेको सुनियो। नयाँ क्रियाशील त वितरण सुरु भएकै रहेनछ।’
जनसम्पर्क समिति कुवेत र नर्वेको अधिवेशन गर्ने बेला एक वर्ष अगाडि नयाँ सदस्यता नदिएकाले पुरानै नवीकरण गरेर अधिवेशन सम्पन्न भएको उनले बताए। जिम्मा लिएको व्यक्तिले काम नगरेर आएको अवस्थामा पार्टी आइपुगेको उनको आरोप थियो।
पौडेलले कांग्रेसबाट लाभको पदमा पुगेका सबैले आर्थिक विवरण पार्टीमा अनिवार्य बुझाउन र नेताहरूको अस्वाभाविक खर्चको श्रोतको छानबिन गर्न पनि माग गरेका छन्। ‘पार्टीका ७२ विभागका करिब तीन हजार छ सय साथीहरूले पद पाउँदा पार्टीलाई के नोक्सान हुने थियो र?,’ उनले प्रश्न गरे, ‘भागबन्डा गरेर विद्यार्थीविहीन नेविसंघ, तरुणविहीन तरुण दलको सात सात सय सदस्यीय समिति बनायो कसले?’
ती संगठनमा भागबन्डामा सदस्य कसले बनाएको हो?’ भन्दै केन्द्रीय सदस्य पौडेलले प्रश्न गरे। उनले त्यही कारण नेविसंघमा जेन–जी पुस्ताका विद्यार्थी जोडिन नसकेको पनि आरोप लगाए।
प्रकाशित: २१ कार्तिक २०८२ २०:३७ शुक्रबार





