राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता रमेश प्रसाईंले राजनीतिक पद भोगविलास र शासन गर्नका लागि नभई संगठनको गहन जिम्मेवारी बहन गर्नका लागि भएको बताएका छन्।
चितवनमा जारी पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले नेतृत्वका लागि हुने प्रतिस्पर्धालाई सकारात्मक रूपमा बुझ्नुपर्ने धारणा राखेका हुन्।
महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उल्लेख्य सङ्ख्यामा उमेदवारी परेपछि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रसाईंले पदलाई जिम्मेवारीसँग जोडेर हेर्नुपर्ने बताए।
‘नेतृत्वमा पुग्ने चाहनालाई केवल पद प्राप्तिको होडबाजीका रूपमा मात्रै बुझ्नु हुँदैन,’ उनले भने, ‘एउटा राजनीतिक व्यक्तिले आफ्नो काँधमा जिम्मेवारी लिन चाहनु र संगठनको भार ग्रहण गर्न खोज्नुलाई अस्वाभाविक मान्न मिल्दैन।’
उनले पदलाई लिएर हुने गरेको सामान्यीकरण प्रति असहमति जनाउँदै राजनीतिक पद र सार्वजनिक लाभको पदबीचको भिन्नता स्पष्ट पारे। प्रसाईंले प्रश्न गरे, ‘यो कुन चाहिँ सार्वजनिक पद हो र ? यहाँ के तलब, भत्ता, सुविधा, गाडी वा बंगला पाइने हो र ? यो त केवल संगठन निर्माण र राजनीतिक विचार प्रवाहका लागि लिइने उत्तरदायित्व मात्र हो।’
सञ्चारकर्मीले राखेको ‘त्यागका कुरा गर्ने तर पदका लागि लुछाचुँडी गर्ने’ भन्ने जिज्ञासामा प्रसाईंले भने, ‘पद केका लागि चाहियो भन्ने कुरा मुख्य हो। के यो भोगविलास प्राप्त गर्नका लागि हो ? के यो राजकाज गर्नका लागि हो ? पक्कै होइन। यो त संगठनको भार बोक्न र राजनीतिक यात्रालाई अघि बढाउनका लागि हो।’
उनले राजनीतिक व्यक्तिले जिम्मेवारीबाट भाग्न नहुने र कार्यभार सम्हाल्न अघि सर्नुलाई लोकतान्त्रिक सुन्दरताका रूपमा व्याख्या गरे।
रास्वपाको जारी महाधिवेशनमा ९९ सदस्यीय निर्वाचित केन्द्रीय समितिका लागि ३८४ जनाले उमेदवारी दर्ता गराएका छन्।
प्रकाशित: १० असार २०८३ १८:१३ बुधबार





