राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले आफूलाई जिम्मेवारी दिए राज्य व्यवस्था तथा सुशासन समितिको कमान्ड सम्हाल्न तयार रहेको बताएका छन्।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले राज्य संयन्त्रमा २९ वर्ष काम गरेको अनुभवलाई मुलुकको हितमा सदुपयोग गर्ने इच्छा व्यक्त गरे।
सांसद पोखरेलले राज्य व्यवस्था समितिलाई मुलुकको सबैभन्दा शक्तिशाली समिति भएको बताउँदै यसैमार्फत जनमुखी कानुनहरू निर्माण गर्न सकिने बताए।
‘यो समितिमा सबै दलका उच्च नेतृत्वहरू हुनुहुन्छ, यसले कानुन निर्माण र सुशासनमा ठूलो भूमिका खेल्न सक्छ,’ उनले भने, ‘मलाई जिम्मेवारी आएमा परिपक्व र नतिजामुखी ढङ्गले निर्वाह गर्नेछु।’
पोखरेलले रास्वपाभित्र निगरानी र अनुशासन रहेको सुनाए। उनले पार्टीभित्र नातावाद, कृपावाद वा कुनै पनि खाले त्रुटि स्वीकार्य नहुने र गल्ती भए तत्कालै खबरदारी हुने पद्धति विकास गरिएको जानकारी दिए।
‘हाम्रो आन्तरिक ग्रुपमा सानो कमजोरी हुनेबित्तिकै रियाक्सन आइहाल्छ, कोही पनि ट्र्याकभन्दा बाहिर जान पाउँदैन,’ पोखरेलले सुनाए।
सांसद पोखरेलले अहिलेको सरकारले लिएको कामको गति उत्साहजनक रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
विगतमा ठूला दलका बहुमतका सरकारहरू किन ढले भन्ने कुराबाट आफूहरूले पाठ सिकेको उनको भनाइ छ। ‘विगतका असफलता हाम्रा लागि शिक्षा हुन्, हामी ती गल्ती दोहोर्याउन चाहँदैनौँ,’ उनले थपे।
निजामती सेवा ऐन र प्रहरी ऐनजस्ता महत्त्वपूर्ण कानुनहरूलाई तत्काल परिमार्जन गरी नागरिकमैत्री बनाउनुपर्ने पोखरेलको धारणा छ।
उनले अब सरकारी सेवा लिन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गरी घरमै बसेर अनलाइनमार्फत सेवा पाउने प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले जनताले निकै आशाका साथ नयाँ शक्तिलाई रोजेको भन्दै यो विश्वासलाई काममार्फत पुष्टि गर्न नसके नागरिकले आगामी चुनावमा दण्ड दिने कुरामा प्रत्येक जनप्रतिनिधि सचेत हुनुपर्ने उल्लेख गरे। ‘जनता सचेत छन्, यदि हामीले डेलिभरी दिन सकेनौं भने उनीहरूले मतमार्फत नै हामीलाई सजाय दिन्छन्,’ पोखरेलले भने।
प्रकाशित: २ वैशाख २०८३ २०:२८ बुधबार





