नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका छन्।
पार्टी महासचिव शंखर पोखरेललाई उद्धृत गर्दै उनले भने, ‘सदस्यता नवीकरण गर्नुपर्ने विषय नै होइन, सदस्यता नवीकरण गरिसकेको कुरा त हाम्रो पार्टीको महासचिवले नै कुनै अन्तर्वार्ता भनिसक्नुभएको छ।‘
अहिले भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जिम्मेवारीका बारेमा छलफल गरिरहेको उनले दाबी गरे। ‘अब जहाँसम्म जिम्मेवारीको कुरा छ, कहाँ, के भन्नेबारेमा परामर्श छलफल हुँदैछ,’ उनले भने।
पार्टी प्रवक्ताले उहाँको सदस्यता होल्डमा रहेको भन्नुभयो नि ? भन्ने प्रश्नमा उनले उनैलाई सोध्न भने। ‘अब को प्रवक्ताले भन्नुभयो, प्रवक्तालाई नै सोध्नुस्,’ उनले भने।
हिजो बसेको पोलिटब्यूरो बैठकले भण्डारीको सदस्यता नवीकरण नभइसकेको निष्कर्ष निकाल्दै उचित समयमा उचित निर्णय लिने जनाएको थियो। यसपछि भण्डारी आज ओली भेट्न पार्टी मुख्यालय च्यासल पुगेका छन्।
यसअघि एक अन्तर्वार्ताका क्रममा पार्टी महासचिव शंखर पोखरेलले भण्डारीको पार्टी सदस्यता पहिल्यै भइसकेको बताएका थिए।
प्रकाशित: ४ श्रावण २०८२ १७:३४ आइतबार





