२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

पोखरा महानगरले पुस २ गते स्थापना दिवस मनाउने

पोखरा महानगरपालिकाले पुस २ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवस पुस २ गते विविध कार्यक्रम गरेर मनाउन लागेको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 

यसअघि पोखरा महानगरले फागुन २७ गते स्थापना दिवस मनाउँदै आएको थियो । सरकारले २०७३ साल फागुन २७ गते काठमाडौंसहित पोखरा, ललितपुर, भरतपुर, विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा गरेको थियो । सोहि दिनलाई पोखरा महानगरपालिकाले गत वर्षसम्म स्थापना दिवस मनाउँदै आए पनि यस वर्षदेखि पुस २ गतेलाई स्थापना दिवस मनाउने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए । पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिन भएकाले फागुन २७ गतेको सट्टा पुस २ गते स्थापना दिवस मनाउने निर्णय भएको उनको भनाई छ । 

तत्कालीन श्रीपाँचको सरकारले २०१६ साल पुस २ गते पोखरालाई नगरपालिका घोषणा गरेको थियो । सोहि दिनलाई स्थापना दिन मानेर स्थापना दिवस मनाउन लागेका हौं,उनले भने,‘यसअघि महानगर घोषणा भएका सबै महानगरपालिकाले फागुन २७ गते स्थापना दिवस मनाउने निर्णय गरे, हामीले पनि सोहि दिनलाई मनायौं, तर पछिल्लो समय महानगरहरुले पुरानै स्थापना दिवसलाई निरन्तरता दिन थालेपछि हामीले पनि नगरपालिका स्थापना भएको मिति खोजी गरेर पुस २ गते नगरपालिका भएको ईतिहास कायम गर्ने गरि स्थापना दिवस मनाउने निर्णय गरेका हौं ।’ उनले आगामी वर्षहरुमा पनि पुस २ गते नै स्थापना दिवस मनाउने गरि महानगर अगाडि बढेको बताए । 

पाँच हजार जनसंख्या हुँदा नगरपालिका घोषणा भएको पोखरा ३६४ दिन पछि अर्थात २०१७ साल पुस १ गते नगरपञ्चायत बनेको थियो । तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेर नेपालमा पञ्चायत व्यवस्था लागु गरेपछि पोखरा पनि नगरपालिकाबाट नगर पञ्चायतमा परिणत भएको मेयर आचार्यले प्रष्ट पारे । तर २०४७ सालमा नेपालमा प्रजातन्त्र बहाली भएपछि पोखरा नगर पञ्चायतबाट पुनः नगरपालिकामै परिणत भएको थियो । 

त्यसपश्चात २०५२ सालमा पोखरा नगरपालिकाबाट स्तरोन्नती भई उप–महानगरपालिका बनेको थियो भने २०७३ साल फागुन २७ गते पोखरा लेखनाथ महानगरपालिका घोषणा भएको थियो । सुरुमा पोखरा लेखनाथ महानगरपालिका कहलिएको पोखरालाई कार्यपालिका बैठकको निर्णयका आधारमा २०७३ साल साउन २३ गते लेखनाथ हटाएर पोखरा महानगरपालिका बनाउने निर्णय भएको थियो । पर्यटनको राजधानी घोषणा भएको पोखरा नेपालकै सबैभन्दा ठूलो महानगरपालिका हो । ४६४ वर्ग किमी क्षेत्रफल भएको पोखरा ३३ वटा वडामा विभाजित छ भने यहाँ ४० भन्दा बढी जातजातिको बसोबास, मौलिक संस्कृति, ९ वटा ताल–तलैया, धार्मिक स्थल तथा हिमश्रृङ्खलाको नजिकबाट अवलोकन गर्न सकिन्छ । 

६७ औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने महानगरले जनाएको छ । स्थापना दिवसको अवसरमा महानगरले ‘पोखरेली नवरत्न’ प्रदान गर्ने मेयर आचार्यले जानकारी दिए । संघ सरकारले गोरखा दक्षिण बाहु प्रदान गरेजस्तै पोखरा महानगरले पनि पोखराका विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गरेका व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ घोषणासहित सम्मान गर्ने उनले बताए । त्यसबाहेक महानगरले स्थापना दिवसको अवसरमा भाषा–साहित्य, कला–संगीत, शिक्षा, स्वास्थ्य, कृषि–उद्यम, सामाजिक सेवा, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, विज्ञान तथा नवप्रवर्तन लगायत क्षेत्रबाट चयन भएका नौ जनालाई ताम्रपत्र, दोसल्ला, पदकसहित जनहि २ लाख २ हजार २०२ रुपैयाँ राशीसहित सम्मान गरिने उनले जानकारी दिए । त्यस्तै, पोखरा महानगर भित्रका ज्येष्ठमध्ये एक जनालाई पोखरा महानगर माता÷पीता घोषणा गरेर सम्मान गरिने पनि उनले बताए ।

महानगरले स्थापना दिवसको अवसरमा महानगरमा कार्यरत ११ जना उत्कृष्ट कर्मचारी, एस.ई.ईं तथा कक्षा ८ मा ४ जिपिए अंक प्राप्त गरेर उत्तिर्ण भएका विद्यार्थी, विषयगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गर्ने ६० जना शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि सम्मान गर्ने जनाएको छ । त्यस्तै, ३३ वटा वडामध्ये सरसफाइमा उत्कृष्ट तीन वडालाई, महानगर मातहतका कार्यालयमध्ये उत्कृष्ट एक वडा घोषणा गरि सम्मान गरिनुका साथै समयमै सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदातालाई पनि पदक र सम्मानपत्र प्रदान गरिने मेयर आचार्यले जानकारी दिए । ‘यसले अन्य वडालाई पनि उत्कृष्ट बन्न प्रेरणा प्रदान गर्नेछ भन्ने उद्देश्यसहित सम्मान गर्ने निर्णय गरेका हौं’–उनले भने । 

स्थापना दिवसको अवसरमा महानगरले बृहद रक्तदान कार्यक्रम पनि गर्ने जनाएको छ । मंसिर २९ गते मेघा सरसफाई कार्यक्रम गर्ने जनाइएको छ । कर्मचारीसहितको सहभागितामा कार्यालय सरसफाई तथा अन्य संघसंस्थाको अगुवाईमा सबै वडाका विभिन्न क्षेत्रमा सरसफाई गर्ने तयारी गरिएको उनले बताए । त्यस्तै, महानगरले पोखराको बसुन्धरा पार्कमा सारङ्गी पार्क बनाउने भएको छ । पोखराको पहिचानका रुपमा स्थापित गर्नेगरी बसुन्धरा पार्कमा सारङ्गी पार्क बनाउने निर्णय भएको उनले जानकारी दिए । हामीले पोखराको पहिचान झल्किने गरि प्रतिष्पर्धात्मक रुपमा डिजाईन तयार गर्न सार्वजनिक आह्वान गरेका थियौं,उनले भने,‘त्यसमा धेरैले सहभागिता जनाएका थिए, जसमध्ये सारङ्गी हाम्रो पहिचानको विषय हुनसक्छ भनेर मूल्याङ्कन समितिले सिफारिस गरेपछि त्यसको विम्व सारङ्गी १५ फुटको निर्माण गरेर पार्क स्थापना गर्ने निर्णय गरेका छौं ।’ सो पार्कको पुस १ गते शिलान्यास गर्ने तयारी भएको उनले बताए । 

महानगरले स्थापना दिवसको मुख्य दिन पुस २ गते मूल समारोह आयोजना गर्ने भएको छ । सोअघि पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकदेखि सभागृहसम्म सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम गर्ने मेयर आचार्यले जानकारी दिए । त्यसबाहेक स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिक सम्मान तथा मानव सेवा आश्रममा न्यानो कपडा वितरण जस्ता सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने उनले बताए ।

स्थापना दिवसका लागि देशभरका सबै महानगरपालिकाका मेयरहरुलाई पनि निमन्त्रणा गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जानकारी दिए ।

प्रकाशित: २६ मंसिर २०८२ १९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App