गोरखाको चुमनुब्री गाउँपालिका–३ मा न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताएका छन्। उद्धार तथा राहतका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेको उनले जानकारी दिएका छन्।
गृहमन्त्री गुरुङले बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
'कृपया धैर्य रहनुहोला र सुरक्षित रहनुहुनेछ,' उनले भनेका छन्।
उनले आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन्।
प्रकाशित: २५ आश्विन २०८३ ०८:०१ आइतबार


-600x400.jpg)


