बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङको काम गर्ने शैली अरूको भन्दा अलग छ। उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन्। समय-समयमा उनले आफ्नो फेसबुकमार्फत कोही पक्राउ परेको जानकारी दिनेदेखि विभिन्न तस्बिर र सूचना सार्वजनिक गरिरहेका हुन्छन्।
गृहमन्त्री गुरुङले हालै सार्वजनिक गरेको एक तस्बिरमा उनी कार्यालयको सोफामा सुतेको अवस्थामा देखिएका छन्। फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त फोटोलाई एक घण्टामा एक लाखभन्दा धेरैले मन पराएका छन् भने ८ हजार बढीले प्रतिक्रिया दिएका छन्।
फोटोसँगै उनले लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’
गृहमन्त्री बनेलगत्तै काममा निकै सक्रिय देखिएका उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि थप चर्चामा आएका हुन्। उनी प्रहरी कार्यालयहरूको अवलोकन गर्ने र प्रहरीलाई निर्देशन दिने काममा सक्रिय देखिन्छन्।
प्रकाशित: २० चैत्र २०८२ १०:३४ शुक्रबार





