विराटनगरको ऐतिहासिक गोल्डकप ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता चैत २८ गतेदेखि हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
काठमाडौंपछि पहिलो पटक विराटनगरमा फ्लड लाइट राखेर फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। सुरुवातमा बाँसको ‘फ्रेम’ बनाएर सुरुवात गरेको लाइट अहिले स्थायी संरचनाबाट रात्रिकालीन फुटबल प्रतियोगिता हुन थालेको हो।
विराट गोल्डकपको ३८ औं संस्करण चैत २८ गतेदेखि वैशाख ५ गतेसम्म हुनेछ। विराटनगरको सहिद रंगशालामा हुने रात्रीकालीन फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले जानकारी दिए। उनका अनुसार ३ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको (एपीएफ क्लब) तथा झापाको झापा ११, काठमाडौंको मच्छिन्द्र क्लब, चर्च ब्वाईज युनाइटेड, विराटनगरको सम्राट स्पोर्टिङ क्लबका साथै भारत झारखण्डको अल झारखण्ड बिर्सा मुन्डा एसए क्लबको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। नेपालकै सर्वाधिक पुरस्कार राशि १५ लाख रुपैयाँ राखेर विगतमा प्रतियोगिता आयोजना भए पनि कोरोनापछि आर्थिक समस्याले गर्दा पुरस्कार राशि घटाएर ११ लाख रुपैयाँ राखेर प्रतियोगिता गर्न थालिएको आयोजकले बताएको छ।
त्यस्तै, प्रतियोगितामा व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ द सिरिजले ५१ हजार, प्लेयर अफ द म्याचले ११ हजारका साथै केही व्यक्तिगत पुरस्कार जनही २१ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
प्रतियोगिताको उद्घाटन खेल चैत २८ गते विभागीय टोली त्रिभुवन आर्मी र झापा ११ बीच हुनेछ। २०७१ सालमा झापा ११ ले आर्मीलाई हराउँदै विराट गोल्डकपको उपाधि जितेको थियो। गत वर्ष २०८१ को उपाधि काठमाडौंको थ्रीस्टार क्लबले जितेको थियो। रासस
प्रकाशित: २० चैत्र २०८२ ०९:५५ शुक्रबार





