१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनका घाइते र मृतकका परिवारप्रति सरकारले संवेदनशीलता देखाएन : सांसद खतिवडा

सांसद रचना खतिवडाले जेनजी आन्दोलनका क्रममा पीडित बनेका युवाहरूले अझै न्याय नपाएको बताएकी छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै उनले आन्दोलनमा घाइते भएका र मृतकका परिवारप्रति सरकारले संवेदनशीलता देखाउन नसकेको आरोप लगाइन्।

उनले जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका तथा घाइते भएका युवाहरूको पीडामा सरकारले मलम लगाउन नसकेको बताइन्। ‘जसले निर्दोष जनतामाथि गोली चलाएर युवाहरूको सपना र भविष्यमाथि आक्रमण गरेको छ, ती दोषीहरूलाई हामीले कहिले सर्वसाधारण राख्ने जेलमा देख्न पाउँछौं?’ उनले सरकारसँग प्रश्न गरिन्।

सांसद खतिवडाले न्याय प्रणालीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै न्यायालय दूषित भएको बताएकी छन्।

२२ वर्षीय रसिक खतिवडा जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर मृत्यु भएका थिए। छोराको मृत्युपछि उनकी आमा रचना खतिवडा न्यायको माग गर्दै सडक आन्दोलनमा सक्रिय बनेकी थिइन्। पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई खसआर्य समूहबाट समानुपातिक सांसद बनाएको हो।    

प्रकाशित: २९ वैशाख २०८३ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App