२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

विध्वंस मच्चाउनेहरूको आरोप जनताले पत्याएका छैनन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपराधिक तत्वहरूले आफूमाथि लगाएका आरोप जनताले पत्याउन नसक्ने बताएका छन्।

सोमबार झापाको गौरीगञ्जको देवीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरूको आन्दोलनमा आपराधिक तत्वहरू घुसेर विध्वंस मच्चाएको र तिनै आपराधिक तत्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताएका हुन्।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहोर्‍याउँदै अध्यक्ष ओलीले संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण आपराधिक तत्वहरूले नै बनाएको धारणा राखे। ओलीले मुलुकको विकासका लागि एमालेले सबैभन्दा धेरै काम गरेको दाबी समेत गरे।

गोबर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहीले तोडमोड गरेको भन्दै उनले आपत्ति जनाए। उनले नेपालमा ग्यास उत्खनन भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट वितरण गर्नुपर्ने बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका ओली पछिल्लो समय झापामा स्थानीयसंगको छलफलमा केन्द्रित भएका छन्।

सो क्षेत्रमा पुग्दा स्थानीयले त्यस क्षेत्रमा टेलिफोनको टावर निर्माण गरिदिन माग गरे। मोबाइलको नेटवर्क राम्रोसँग नटिप्ने भएकाले टावर निर्माणको आवश्यकता रहेको स्थानीय सीताराम यादवले बताए।

प्रकाशित: २६ माघ २०८२ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App