राजनीतिक विश्लेषक हरि शर्माले नेपालका राजनीतिक दलहरू चुनाव जित्ने यान्त्रिक विधिमा मात्र सीमित भएको र सामाजिक रूपान्तरणको मूल एजेन्डामा चुकेको टिप्पणी गरेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले राजनीतिक दलहरू सत्ता र शक्तिको पछाडि मात्र दौडिँदा समाजको आधारभूत मुद्दा ओझेलमा परेको बताएका हुन्।
उनले भने ‘दलहरूको काम चुनावमा भोट माग्ने र सरकार बनाउनेमा मात्र सीमित भयो। चुनाव बाहेक दलहरूसँग अर्को कुनै विधि नै भएन, जसले राजकीय सत्ताको वैधानिकतालाई पुनर्स्थापित गर्न सकोस्।’
विश्लेषक शर्माले २००७, २०४६ र २०६२/६३ सालका आन्दोलनहरूले राजनीतिक व्यवस्था परिवर्तन गरे पनि दलहरूले त्यसपछिको सामाजिक र आर्थिक एजेन्डालाई भने बिर्सेको आरोप लगाए।
‘दल हो भने सामाजिक रूपान्तरणको एजेन्डा के हो ? आर्थिक एजेन्डा के हो ? त्यसमा प्रतिबद्धता हुनुपर्यो, केवल सत्ताले मात्र पुगेन,’ शर्माले भने, ‘नेपालका राजनीतिक दलहरूको एउटा मुख्य कार्यभार सामाजिक रूपान्तरण पनि हो। तर, जातीय विभेद, छुवाछुत जस्ता सामाजिक कुरीति र आर्थिक विकासका एजेन्डामा एकपटक अडिएर सोच्नुपर्नेमा दलहरू केवल दौडिरहेका छन्।’
उनले अहिलेको नेतृत्व सानो दृष्टिकोण राखेर सत्ताको अंकगणितमा मात्रै अल्झिएको बताए। शर्माका अनुसार दलहरूले आफूलाई केवल चुनाव लड्ने संयन्त्रका रूपमा मात्र विकास गरेका छन्। जस कारण नागरिकसँगको उनीहरूको सम्बन्ध टाढिँदै गएको छ।
‘राजनीतिक दल हुनुको अर्थ समाजलाई दिशानिर्देश गर्नु हो, तर यहाँ दलहरू नै सत्ताको पछि लागेर कुहिरोको काग जस्तै भएका छन्,’ उनले थपे, ‘समाजको सतही बनावटमा हामी कहाँ दौडिरहेका छौं भन्ने थाहा छैन। यसको लागि राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’
शर्माले समाजमा व्याप्त निराशालाई चिर्न दलहरूले तत्काल आफ्ना व्यवहार सच्याउनुपर्ने र नागरिकले पनि गुनासो मात्र नगरी दलहरूलाई निरन्तर खबरदारी र प्रश्न गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: २ पुस २०८२ २०:०५ बुधबार





