४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपा सांसदहरूलाई के-के विषयमा गरिँदै छ प्रशिक्षित ?

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि दुईदिने ‘संसदीय अभ्यास तथा नेतृत्व विकास’ प्रशिक्षण कार्यक्रम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।

‘सक्षम सांसद सशक्त संसद्’ भन्ने नाराका साथ पार्टीको प्रशिक्षण विभागले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सो कार्यक्रम आयोजना गरेको हो।

शनिबार आयोजित उद्घाटन सत्रमा पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशिक्षणको संयुक्त रूपमा सुरुवात गरे।

रास्वपाले आफ्ना सांसदहरूलाई सदन र संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम राखेको जनाएको छ।

प्रशिक्षणमा संसदीय समितिमा हुने छलफल, सदनमा गरिने प्रस्तुति, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व र विषयगत छलफलका विषयमा सांसदहरूलाई प्रशिक्षित गरिनेछ।

पार्टीले सांसदहरूको क्षमता विकास, आत्ममूल्याङ्कन, अनुभव आदान–प्रदान र भविष्यको राजनीतिक संस्कार निर्माणका लागि यो कार्यक्रमलाई महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ।

दुई दिनसम्म चल्ने यस प्रशिक्षणमा पार्टीले सांसदहरूलाई अनिवार्य सहभागी हुन निर्देशन दिएको थियो। यद्यपि, कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ।

शनिबारको प्रशिक्षण कार्यक्रममा संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने भने सहभागी भएनन्।

कार्यक्रममा पार्टीका महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पदाधिकारी र सांसदहरूको उपस्थिति रहेको छ।

आज र भोलि बिहान ११ः३० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने यस प्रशिक्षणको समापन आइतबार पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय गरिएको छ।

रास्वपाले आफ्ना जनप्रतिनिधिहरूलाई संसद्‌मा थप सक्रिय र जिम्मेवार बनाउन यस्ता प्रशिक्षणलाई निरन्तरता दिने बताएको छ।

प्रकाशित: २६ वैशाख २०८३ १६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App