संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षी दलहरूले बैठक बस्ने भएको छ।
प्रतिनिधिसभा बैठकअघि मध्याह्न १२ बजे काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलको बैठक बस्न लागेको नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए। प्रमुख सचेतक र सचेतकहरूको बैठकमा विपक्षी दलका संसदीय दलका नेताहरू पनि सहभागी हुने बताइएको छ। दुलालका अनुसार विपक्षी मोर्चाले ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने मागमा एकमत भएर अघि बढ्ने रणनीति तय गर्ने छ।
यस्तै प्रधानमन्त्रीले उक्त विवादास्पद अभिव्यक्तिबारे माफी माग्नुपर्ने माग विपक्षीको छ। यसअघि प्रतिनिधिसभामा आइतबार नयाँ संसद नियमावली पारित गर्ने क्रममा विपक्षी दलका सांसदले ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’ भन्ने नारा लगाएका थिए।
विपक्षीले सभामुख डोलप्रसाद अर्याल विपक्षीप्रति प्रतिशोधपूर्ण व्यवहार र सत्तापक्षको सहयोगी भूमिकामा प्रस्तुत भएकामा पनि विरोध गर्ने भएका छन्। अर्यालले नेपालको संसदीय इतिहासमै पहिलोपटक विपक्षीको नाराबाजीबीच संसद् नियमावली बहुमतले पारित भएको घोषणा गरेका थिए। यसअघि नियमावली सर्वसम्मत पारित गर्ने अभ्यास थियो।
प्रकाशित: १८ जेष्ठ २०८३ ११:४१ सोमबार





