नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला केही दिनदेखि उत्पन्न तनावग्रस्त अवस्थाका क्रममा राज्य पक्षबाट भएको बल प्रयोगप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले हिंसा रोक्न, सामाजिक सद्भाव कायम गर्न र संवादमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार जारी विज्ञप्तिमा अध्यक्ष ओलीले संवेदनशील परिस्थितिमा अमानवीय गतिविधि रोकिनुको सट्टा झन् उग्र बन्दै गएको उल्लेख गर्दै सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालालाई चारबुँदे अपिल गरेका छन्।
उनले जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्र हुन सक्ने भन्दै त्यस्ता प्रयासप्रति सजग रहन र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता जोगाउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
ओलीले नागरिकको जीउधनको सुरक्षा गर्नु, संवादमार्फत समस्या समाधान गर्नु र देशलाई शान्तिको बाटोमा अघि बढाउनु सरकारको पहिलो दायित्व भए पनि सरकारले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दासमेत सरकार मौन बसेको भन्दै उनले सरकारमाथि प्रश्न उठाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शङ्कास्पद एवं भर्त्सनायोग्य छ। हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु।”
अध्यक्ष ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले द्वन्द्व र हिंसाले कुनै पनि समस्याको समाधान नदिने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार राजनीतिक सहकार्यबाट मात्रै वर्तमान जटिल परिस्थितिको निकास सम्भव हुने बताएका छन्।
साथै, राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि चुनौती देखिएको उल्लेख गर्दै अध्यक्ष ओलीले सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवालाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्।
प्रकाशित: १४ श्रावण २०८३ १७:४४ बिहीबार





