५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेतृत्व नछाड्ने हठमा ओली

जेनजी आन्दोलनका कारण सत्ता गुमाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी शक्ति (नेतृत्व) मा रहिरहन चाहन्छन्। प्रधानमन्त्रीबाट राजनीनामा दिएपछि उनी सेनाको सुरक्षा घेरामा बसेका थिए। सेनाको सुरक्षा घेरबाट निस्केपछि भक्तपुरको गुन्डुमा डेरा लिएर बसेका ओलीले पार्टीका पदाधिकारीसँग भेट गरी पार्टी नेतृत्वमा रहिरहन अनुकूल वातावरण बनाउने साहस गरिरहेका छन्। तर उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले यसो गर्दा समस्या पर्न सक्ने जानकारी गराइसकेका छन्। तर ओली नेतृत्व नछाड्ने हठमै रहेको एक नेताले बताए।

ओली चार दिनदेखि पदाधिकारी र अन्य नेतासँग ‘वान टु वान’ संवाद गरेर आफ्नो पक्षमा वातावरण बनाउन लागिरहेका छन्। करिब दुई साताअघि सम्पन्न पार्टी विधान महाधिवेशनले विधान संशोधन गरी ओलीले चाहे तेस्रो कार्यकाल पनि अध्यक्षमा दोहोरिन पाउने व्यवस्था गरेको थियो तर विधान महाधिवेशनलगत्तै मुलुकमा विकसित राजनीतिक घटनाक्रम अध्यक्षमा टिकिरहन ओलीका लागि प्रतिकूल बनेको छ। यस विषयमा एमालेका धेरैजसो नेताहरु जानकार छन् तर पनि उनीहरू पार्टी नेतृत्व लिन अग्रसर छैनन्।

ओलीले तालिका बनाएरै पार्टीका नेताहरूलाई भेटिरहेका छन्। ओलीले नेताहरूलाई भेटेर नेतृत्वमा आफ्नो विकल्प नभएको सन्देश दिन खोजेका छन्। भेटको अर्थ पार्टीका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने हो। ओलीले उपाध्यक्ष पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङलाई पनि गुन्डुमा नै बोलाएर भेटिसकेका छन्।

ओलीलाई भेट्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आइतबार गुन्डु पुगेका थिए। पोखरेलले भने पार्टीमा ओलीका लागि बाह्य र आन्तरिक परिस्थिति राम्रो नरहेको भन्दै बैठक बोलाउन सुझाएका थिए तर ओलीले दसैंअघि पदाधिकारी बैठक बोलाउने सम्भावना नरहेको स्रोतको दाबी छ। ‘भेटमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पदाधिकारी बैठक बोलाउन आग्रह गर्नुभयो तर अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनु भएन’, निकट स्रोतले भन्यो।

ओलीले आफू निकटलाई दसैंपछि मात्रै बैठक राख्ने बताएका छन्। ‘मोर्चाबन्दी भैरहेको होला, मोर्चालाई ठुलो हुन दिनुपर्छ’, ओलीले आफूविरुद्ध मोर्चाबन्दी भएकातर्फ संकेत गर्दै निकट नेताहरूसँग भनेका स्रोतले जनाएको छ। एमालेमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्य अरुण नेपालसहितका नेताहरुले नेतृत्व परिवर्तनको पक्षमा वकालत गरिरहेका छन्। केहीले पार्टी नेतृत्व परिवर्तनका पक्षमा सामाजिक सञ्जालमा बहस चलाइरहेका छन्।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, पौडेल, रामबहादुर थापा र गुरु बरालले भने नेतृत्व परिवर्तनका विषयमा केही बोलेका छैनन्। त्यस्तै उपमहासचिव गुरुङ, सचिवहरू लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्यालले पनि नेतृत्व परिवर्तनका विषयमा सार्वजनिक रुपमा धारणा सार्वजनिक गरेका छैनन्। महासचिव पोखरेल र उपमहासचिव ज्ञवाली र स्थायी कमिटी सदस्य महेश बस्नेतले अहिले नेतृत्व परिवर्तन हुन नसक्ने अभिव्यक्ति दिइरहेका छन्  तर पोखरेल र ज्ञवालीले ओलीसँगको भेटमा ‘वान टु वान’ भेटमा अहिले परिस्थिति बिग्रेकाले पुनर्विचार गर्नुपर्ने बेला आएको भन्दै सम्झाउने कोसिस गरेको स्रोतको दाबी छ।

कुशासन र सामाजिक सञ्जाल बन्दविरुद्धमा गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीसहित ७३ जनाको ज्यान गयो। त्यसक्रममा चार सय जनाभन्दा धेरै घाइते भए । २४ गते आन्दोलनका नाममा सिंहदरबार, सर्वोच्च अदालत, संघी संसद् भवनसहित सरकारी र निजी भौतिक संरचना ध्वस्त पारिपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनी, उनको मन्त्रिमण्डलका सदस्यलगायत पुराना राजनीतिक दलका नेता केही दिन सेनाको सुरक्षा घेरामा बसेका थिए। आन्दोलनकारीले पुराना दलप्रति आक्रोश पोख्दै नेता र कार्यकर्ताका घरमा तोडफोड गरी आगो लगाएका थिए।

ओलीले मंगलबार आफ्नो डेरामा भेला भएका युवा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै नेपाल इमानदार र कर्मठ मानिसको देश रहेको भन्ने बनाउनुपर्ने बताएका छन्। ‘यो देश हाम्रो हो, हामीले बनाउनुपर्छ। अहिले कसले जलायो थाहा छैन। देश र इतिहासलाई माया गर्ने मान्छेले पक्कै सिंहदरबार जलाएनन्। घुसपैठ तत्तवहरूले जलाएका हुन्। जो पहिलेदेखि भन्दै थिए– सिंहदरबार जलाउँछु भनेर। योजनाबद्ध काम हो यो। यस्तो कुरा हामीले बुझ्नुपर्छ,’ उनले सम्बोधनका क्रममा भनेका थिए।

यसैबिच नेकपा माओवादी केन्द्रले गरेको निर्णयपछि एमाले अप्ठेरोमा परेको छ। माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनको भावनाको कदर गर्नुपर्ने भन्दै पार्टी पुनर्गठनसहित ४ बुँदे प्रस्ताव अघि सारेपछि एमाले अध्यक्ष ओली दबाबमा परेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा दाहालले केन्द्रीय समिति विघटनसहित ४ बुँदे प्रस्ताव अघि सारेका थिए।

दाहालले आफ्नो पार्टीमा यस्तो प्रस्ताव राखेपछि एमालेका केही नेताले ओलीलाई पार्टी पुनर्संरचनामा जान दबाब दिएका छन्। ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विशेष महाधिवेशनका लागि तयारी गर्न अबको एक साताभित्र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने र लगत्तै महाधिवेशन आयोजक समिति गठन गर्ने बताएपछि हाम्रा अध्यक्ष पनि दबाबमा हुनुहुन्छ’, एमालेका एक पदाधिकारीले भने।

विशेष महाधिवेशनबाट नयाँ संरचना बनाएर पार्टी संगठनलाई अगाडि बढाउने दाहालको प्रस्तावमा उल्लेख छ। दाहालले युवाको बहुमत हुनेगरी मात्रै होइन, महिला, दलितलगायतलाई पनि बृहत् रुपमा समेट्नेगरी संकल्प प्रस्ताव बनाउने र संगठनात्मक रुपान्तरणको प्रस्तावसहित वस्तुगत निर्णय महाधिवेशनबाट गर्ने बताएका छन्। दाहालले महाधिवेशनबाट प्रत्यक्ष रुपमा अध्यक्षसहितका सबै पदाधिकारी चुन्नुपर्ने दाहालको प्रस्ताव छ।

प्रकाशित: ८ आश्विन २०८२ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App