४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

विद्यालाई ओलीको चेतावनी : अध्यक्षमा उठे भीम रावलको जस्तै कारबाही भोग्नुपर्ला

प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा प्रतिस्पर्धा गरे पराजित हुने र त्यसपछि पार्टीले उनीमाथि भीम रावललाई जस्तै कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

बुधबार काठमाडौंका महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक भेटघाटमा अध्यक्ष ओलीले व्यक्त गरेको आधिकारिक धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको हो।

केही सञ्चारमाध्यममा ओलीको भनाइबारे गलत समाचार आएको भन्दै सचिवालयले बिहीबार एक विज्ञप्ति नै जारी गरेर ‌ओलीको आधिकारिक भनाइ सार्वजनिक गरेको हो।

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा अध्यक्ष ओलीको भनाइलाई उद्धृत गर्दै भनिएको छ, ‘उहाँ (विद्यादेवी भण्डारी) पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ। हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुपर्ने हुन्छ।’

विज्ञप्तिअनुसार, अध्यक्ष ओलीले नेतृत्व लिनु भनेको कसैको आँखामा नबिझ्ने ‘लालगेडी’ हुनु नभई क्षमता प्रदर्शन गर्नु र परिस्थितिअनुसार डटेर सामना गर्नु भएको बताएका थिए।

उनले भण्डारीलाई त्यस्तो अपमानजनक अवस्थामा पुग्न नदिन आफूले व्यक्तिगत रूपमै पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन आग्रह गरेको समेत खुलासा समेत गरे।

सचिवालयले ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन' भन्ने जस्ता समाचारलाई भ्रामक र मनगढन्ते भन्दै खण्डन गरेको छ।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीप्रति आफूले सबैभन्दा बढी सम्मान र माया गर्ने भए पनि उनी अहिले पार्टी र नेतृत्वको विपक्षमा उभिएको देख्दा आश्चर्यमा परेको बताएका थिए।

‘पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् रूपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरू पार्टीका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो,’ ओलीको भनाइ थियो, ‘यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन।’

उनले भण्डारीका निकटस्थहरूलाई उनलाई गलत बाटोमा जान उल्काउनुको सट्टा सम्झाउन आग्रहसमेत गरेको सचिवालयको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १२ भाद्र २०८२ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App