१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

ओलीले भने- अदालत कानमा तेल हालेर बस्न मिल्दैन, अविलम्ब फैसला देओस्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक गम्भीर संवैधानिक संकटमा फसेको बेला सर्वोच्च अदालत कानमा तेल हालेर बस्न नमिल्ने बताएका छन्।

ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

संसद् विघटन र वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाउँदै ओलीले सर्वोच्च अदालतले तत्काल निकास दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘यत्रो संवैधानिक प्रश्न उठेका बेला, देश यस्तो संवैधानिक संकटमा फसेका बेला, अदालत चुप लागेर बस्न मिल्दैन। यस्तो मौनताले सम्बन्धित संस्थाहरूको अस्तित्वको औचित्यमा प्रश्न उठ्ने अवस्था बन्छ।’

अध्यक्ष ओलीले अदालतले चुनाव गराउने वा संसद् पुनःस्थापना गर्ने भन्ने विषयमा छिटोभन्दा छिटो फैसला सुनाउनुपर्ने बताए।

एमालेको माग संसद् पुनःस्थापना रहेको स्पष्ट पार्दै उनले भने, ‘संविधान मिचिएको छ भनेर हामीले भनिरहेका छौं। यदि मिचिएको छैन भने अदालतले छैन भन्दिनुपर्यो। मिच्न पाइन्छ भने पनि पाइन्छ भन्दिनुपर्यो। तर, चुपचाप लागेर कानमा तेल हालेर बस्न मिल्दैन।’

कुनै पनि प्रशासनिक वा प्राविधिक बहानामा अदालत पन्छिन नमिल्ने ओलीको तर्क छ। ‘कुनै ब्युरोक्रेटिक अर्डर वा कुनै बहानामा यसरी बस्न मिल्दैन, हामी अभिलम्ब फैसलाको माग गर्दछौँ,’ उनले भने।

ओलीले अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि संविधान संशोधनमार्फत सर्वपक्षीय सरकार बनाउने र त्यसले स्वच्छ निर्वाचन गराएर देशलाई निकास दिनुपर्ने बाटो समेत औंल्याएका छन्।

प्रकाशित: १७ माघ २०८२ १६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App